अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको तयारी पूरा

बिआरटीनेपाल २०७५ पुष १२ गते ११:२५ मा प्रकाशित

कम्पाला युगान्डा । गैरआवासीय नेपाली सङ्घको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ । आयोजक राष्ट्र एनआरएनए एनसिसि युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यही २९ – ३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुँदैछ भने सहभागीहरूलाई इम्पेरियल होटेलमा आवासको व्यवस्था गरिएको छ ।

बैठकको उद्घाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्ने र बन्द सत्रमा समेत युगान्डा सरकारका पर्यटन राज्यमन्त्री र निजी क्षेत्रका प्रतिनिधि बाट युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन र नेपाल सङ्ग साझेदारीका सम्भावना बारे कार्यपत्रहरू प्रस्तुत हुने छन् । गैरआवासीय नेपाली विज्ञहरू द्वारा अफ्रिका क्षेत्रका ठुला विकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत हुने छ । बैठकमा नेपालमा प्रविधि र लगानीका साझेदारी र अनुभव साट्न सकिने विषय माथि समेत छलफल हुनेछ । त्यसै गरी अफ्रिकामा नेपाली कामदारहरूले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नवीकरण, दलालहरू द्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम छ ।

बैठकमा कायरो स्थित नेपाली दूतावासका राजदूत झबिन्द्र अर्याल समेत सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने लगायत पदाधिकारीहरूको उपस्थिति रहने भएको छ । मूल कार्यक्रम बाहेक नेपाली, युगान्डीयन र अफ्रिकिन सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठीको पनि आयोजना गरिने भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू