अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

कोरिया रोजगारीको एक दशकः ६० हजार नेपाली श्रम बजारमा, १६० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:३७ मा प्रकाशित

नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार ७०९ नेपाली युवाले कोरियामा रोजगारीको अवसर प्राप्त गरेका वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ ।

सन् २००८ देखि २०१८ सम्म सञ्चालित भाषा परीक्षामा झण्डै पाँच लाख युवाले सहभागिता जनाएका थिए । विभिन्न चरणमा सम्पन्न कोरिया भाषा परीक्षामा चार लाख ८३ हजार ४९ युवाले सहभागिता जनाएको शाखाको तथ्याङ्कमा उल्लेख छ । भाषा परीक्षामा सहभागी हुने युवाको उल्लेख्य सहभागिताले दक्षिण कोरिया नेपालीको आकर्षक श्रम गन्तव्य ठहरिएको पुष्टि हुन्छ । एक दशकका अवधिमा ७० हजार ४६९ जनाले भाषा परीक्षा उतीर्ण गरेपनि ६९ हजार ९८ जनाले मात्र रोजगार आवेदन फारम भरेका थिए ।

सन् २००८ देखि नै कोरियाले कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए भने ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ भाषा परीक्षा सञ्चालन नभए पनि अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ६४ महिलासहित एक हजार ९११ युवाले कोरियाको श्रम बजारमा रोजगारीको अवसर प्राप्त गरेको शाखाले जनाएको छ ।

सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा छ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा छ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । निकै इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकलाई कोरियाका रोजगारदाताले समेत विश्वास गर्दै आएका छन् । अन्य देशका तुलनामा नेपाली करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने पाइएका कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा पर्दै आएका हुन् ।

सोहीअनुरुप कोरिया सरकारले वर्षेनी नेपाली कामदार लैजाने कोटा बढाउँदै आएको छ । कोरिया सरकारले इपिएसमार्फत सन् २०१९ मा नेपालबाट यसअघिको भन्दा निकै ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने सङ्केत गरेको छ । कोरियाले सन् २०१९ मा विभिन्न देशबाट ५६ हजार आप्रवासी कामदार भित्र्याउने घोषणा गरिसकेको छ । सन् २०१९ मा कोरिया सरकरले यसअघिभन्दा बढी आप्रवासी कामदार भित्र्याउने घोषणा गरेसँगै नेपाली कामदारको माग पनि बढ्न सक्ने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको उहाको भनाई छ ।

आकर्षक सुविधा

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लैजाने गरेको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झण्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ ।

कोरिया सरकारले विभिन्न दुर्घटनामा परेका श्रमिकका लागि बीमाबापतको क्षतिपूर्ति दिने गरे पनि कुनै कामदारको असामयिक मृत्यु भएमा उनीहरुले कुनै राहत पाउँदैनथे । अब भने अनायासमै मृत्युवरण गरेका श्रमिकका परिवारले रु तीन लाख आर्थिक सहायता प्राप्त गर्ने कोरिया सरकारले निर्णय गरेको छ ।

अहिले नेपाली कामदारले मासिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (चार वर्ष १० महीना), पुनःकोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुञ्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको सङ्ख्या बढ्दै गएको निर्देशक खनाल बताउनुहन्छ ।

यस्तै नेपाल र कोरिया सरकारबीच कोरियामा काम गरिरहेका कामदारले आफ्नो करार अवधिमा कम्तीमा पनि एकपटक परिवारलाई कोरिया लैजान सक्ने सहमति भइसकेको छ । जसअनुसार अहिलेसम्म केही श्रमिकका परिवार कोरिया गइसकेका छन् ।

१६० नेपालीको मृत्यु

 

आकर्षक गन्तव्यका रुपमा रहेको कोरियामा पछिल्लो समय विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ । सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । डिप्रेशनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका पनि छन् ।

सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोला करार अवधिमा एक पटक कामदारले परिवार लैजान सक्ने व्यवस्थापछि आत्महत्याको घटनामा कमी आउने विश्वास व्यक्त गर्नुहुन्छ । मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ, उहाका भनाई छ , ‘कोरियामा काम गर्ने नेपालीमा डिप्रेसनको अवस्था भयावह छ, कडा काम, रोजगारदाताको कामप्रतिको कडाई, परिवारको चाहनालगायत कारणबाट नेपालीमा मानसिक रोग देखापरेको छ । यसबाट आत्महत्याको घटनामा समेत वृद्धि भएको हुनसक्छ ।’
यसबीचमा नेपाली दूतावासले गत महीना नेपाली कामदारलाई लक्षित गर्दै मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्शमा ‘तनाव व्यवथापन र स्वेच्छिक घरफिर्ती’ कार्यक्रम सञ्चालन गरेको उहाको भनाई छ ।

प्रतिक्रिया