अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

एटलान्टामा उदासको ‘बन्द खाम’ र सुब्बाको ‘स्मृतिका छालहरू’ लोकार्पण

अर्जुन प्रधान, बिआरटी नेपाल सम्वाददाता, ओहायो २०७५ पुष १० गते १०:५७ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा साहित्यिक कार्यक्रम ‘कृति लोकार्पण तथा साहित्य लेखन कार्यशाला’ भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकामा बसोबास गर्दै आएका नेपाली भाषी साहित्य सर्जकहरूको ठुलो सङ्ख्याको उपस्थितिकाबीच सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । 

कार्यक्रम डिसेम्बर २३ तारिखका दिन आयोजना गरिएको थियो । विश्व भुटानी साहित्य सङ्गठनले आयोजना गरेको कार्यक्रम बिहान साढे ११ बजे सुरु भएर राति १० बजेसम्म चलेको थियो । कार्यक्रम तिन खण्डमा सञ्चालन भएको थियो । बिहान साढे ११ देखि दिउँसो ४ बजेसम्म पहिलो र दोस्रो गरी दुई खण्ड कार्यक्रम सम्पन्न भएको थियो भने तेस्रो खण्डमा भने साहित्यिक साँझ गरिएको थियो । पहिलो खण्डमा साहित्यकार द्वय शेरु उदासको ‘बन्द खाम’ र राजु सुब्बाको ‘स्मृतिका छालहरू’ दुई वटा कृति विमोचन गरिएको थियो । यी दुवै गजल सङ्ग्रह हुन् । 

विमोचन लगत्तै दुवै गजल सङ्ग्रहको समीक्षा समेत गरिएको थियो । ‘बन्द खाम’ को समीक्षा सबिन शर्मा धिमालले तथा ‘स्मृतिका छालहरू’ को समीक्षा पशुपति तिम्सिनाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ रहनु भएको थियो । 

कार्यक्रममा साहित्य सर्जकहरू दीपा राई पुन, विजय खालिङ, खेम रिजाल, गङ्गा लामिटारेलगायत उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको सभाध्यक्ष जय बान्तवाले गर्नु भएको थियो । कार्यक्रममा बेलुका ‘साहित्यिक साँझ’ पनि भव्य रूपमा सम्पन्न भएको छ । साहित्यिक साँझमा विभिन्न स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यिक लेखन कार्यशालामा हिमशिखर, डिल्लु चम्लगाई, पूर्ण नर्जाली जलन, राज बराल, निल अधिकारी, ममता मोक्तान, लक्की राशि, कर्ण गुरुङ, दिपेन ढुङ्गाना, आभास रिखाम, केशव प्रसाद न्यौपाने, उमेश आचार्य, सुशील रेग्मी, खेम रिजाल, डेन्जम साम्पाङ, रमेश दियाली, अविनाश भट्टराई एक्स्ट्रा, शेरु राई उदास, राज बराल, चेतन बानिया, किरण मानके अनेसास, प्रकाश वन्दना, निर्मला राईलगायतका स्रष्टाहरूको उपस्थिति थियो । करिब ५० जना साहित्यिक स्रष्टाको भेला राति ९: ३० बजेसम्म चलेको थियो ।

कार्यक्रममा अबको साहित्य र साहित्य सिर्जनामा लागेका स्रष्टाहरूले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा छलफल भएको थियो । साथै कार्यक्रममा आउन लागेको नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । भुटानी समाजका साहित्यिक क्षेत्रमा लागेका स्रष्टाहरूका लागि यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको सहभागी स्रष्टाहरूले प्रतिक्रिया दिएका छन् ।

साहित्यीक कार्यक्रममा समाजसेवी हरि अधिकारी वंगाले, दिलीप दाहाल, साहित्य परिषद् भुटानका अध्यक्ष गङ्गाराम अभिकारी लामिटारेले एउटै साहित्यीक छाता सङ्गठन निर्माण हुनु पर्ने आवश्यक्त आंैलाउदै मन्तव्य राख्नु भयो ।

उक्त साहित्यीक कार्यक्रमको पहिलो खण्डलाई स्रष्टा पातलो अन्तरेले, दोस्रो खण्डको लेखन कार्यशालालाई जिविएलओका अध्यक्ष डेन्जम साम्पाङ्ग राईले सञ्चालन गर्नु भएको थियो । त्यसै गरी अन्त्यमा साहित्यीक साँझको रचना वाचन कार्यक्रमको सञ्चालन धर्मेन्द्र तिम्सिना क्षितिजले गर्नु भएको छ ।

प्रतिक्रिया