अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

भ्रष्टाचारको आरोप लागेका चुडामणि पहिलो नम्बरको सहसचिव !

बिआरटीनेपाल २०७५ पुष १० गते ८:४८ मा प्रकाशित

कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो । तत्कालीन कर फर्छ्यौट आयोगमा रहँदा अनधिकृत रुपमा भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका चुडामणि शर्मा पहिलो नम्बरमा छन् । आन्तरिक विभागको महानिर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका शर्मा ६१ दिन हिरासतमा बसेका थिए ।

अख्तियारले कर छुट प्रकरणमा शर्मा्विरुद्ध ३ अर्ब बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पनि अख्तियारले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

तत्कालिन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् । शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् । २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् ।

सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू