अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल सम्पन्न

बिआरटीनेपाल २०७५ पुष १० गते ८:२८ मा प्रकाशित

बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ । फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन मंगलबार विभिन्न बिषयमा रोचक एवम् बौद्धिक छलफल भएको छ । पोखराको लेकसाइड तालबाराही चोकस्थित फुटबल मैदानमा भएको फेस्टिभलमा भूपी कक्ष र अलि मियाँ कक्षमा विभिन्न सत्र सञ्चालन भएका छन् ।

फेस्टिभलअन्तर्गत चौथो दिनको पहिलो सेसन ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ मा मनीषा कोइराला, आनी छोइङसँग संवाद भएको छ । उक्त संवादमा एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेत पनि वक्ताको रुपमा रहनुभएको थियो । पत्रकार यज्ञेशले अन्तरसंवाद गरेको उक्त सेसनमा कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरण एवम् देशभर बढिरहेका हत्या, हिंसा र बलात्कारका विषयमाथि छलफल भएको थियो ।

कार्यक्रमको दोस्रो सेसनमा भूपी कक्ष र अलि मियाँ कक्ष दुवैतिर अन्तरसंवाद भएको थियो । भूपी कक्षमा ‘संघीय नेपालमा आञ्चलिक स्वर’ शीर्षकमा केदार शर्माले कुन्ता शर्मा, अशोक थारु र हनिफ मियासँग संवाद गर्नुभयो । त्यसैगरी अलि मियाँ कक्षमा ‘म किन राष्ट्रवादी होइन ?’मा खगेन्द्र संग्रौला र ‘ह्वाई आन्र्ट यू अ फेमिनिस्ट’ शीर्षकमा अर्चना थापाले सम्बद्ध विषयमाथि प्रकाश पार्नुभयो ।

चौथो दिनको तेस्रो सेसन थियो, ‘अबको नेतृत्व – कसको, कस्तो ?’ यो सेसनमा गुणराज लुइँटेलले नेकपा नेता नारायणकाजी श्रेष्ठ, कांगे्रस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग अन्तर्वार्ता गर्नुभयो । चौथो सेसनमा पनि भूपी कक्ष र अलि मियाँ कक्षमा ‘गणतन्त्रपछिको नेपाली समाज’ शीर्षकमा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग किरण नेपालले अन्तरसंवाद गर्नुभयो भने अलि मियाँ कक्षमा भने ‘द वेवार्ड डटर  – अ काठमान्डू स्टोरी’ शीर्षकमा संवाद भएको थियो । उक्त संवादमा मुना गुरुङ र श्रद्धा घलेले विचारविमर्श गर्नुभयो ।

‘साहित्यमा सेन्सरसिप’ शीर्षकमा पाँचौं सेसनमा छलफल भएको थियो । उक्त सेसनमा युग पाठक, सरस्वती प्रतीक्षा, महेशविक्रम शाहसँग नयनराज पाण्डेले बहस गर्नुभयो । सोही अवसरमा ‘चाल्र्स शोभराज – इन्साइड द हार्ट अफ द बिकिनी किलर’ नामक पुस्तक विमोचन गरिएको थियो । फेस्टिभलअन्तर्गत आजको छैटौं सेसनको ‘दन्त्यकथा’ शीर्षकमा प्रदीप गिरिले आफ्ना अभिव्यक्ति दिनुभयो । मंगलबारको अन्तिम सेसन ‘कविता वाचन’मा विभिन्न ११ जना कविले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू