अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

शिक्षामा आमूल परिवर्तन आवश्यक: मोदनाथ प्रश्रित

बिआरटीनेपाल २०७५ पुष ८ गते १४:५२ मा प्रकाशित

सबैको कल्याण गर्ने मूल आशय रहेको पूर्वीय ज्ञानको भण्डारलाई जीवन्त राख्न र आधुनिक प्रविधिहरू सहितको विज्ञानबाट नेपाली समुदायले फाइदा लिन मुलुकको शिक्षा पद्यतीमा आमूल परिवर्तन आवश्यक रहेको साहित्यकार तथा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितले बताउनुभएको छ । उहाँले भन्नुभयो: “हाम्रा पूर्वजहरले असल भावना र कल्पनाशीलताको ज्ञान छर्दै थिए । तर, अहिले नेपालमा शिक्षाको केवल व्यापारीकरण भइरहेछ । पढाइ त भइरहेको छ तर सीपमूलक ज्ञानको अभाव छ । त्यसैले थर र गोत्र अनि जात जातीको कुरामा हामी अल्झिएका छौँ ।”

लेखक पुष्पराज पौडेलले सिर्जना गर्नुभएको र हेड्स नेपालले प्रकाशनमा ल्याएको नयाँ पुस्तक शिक्षाका ती दिन को आज काठमाण्डौँको पद्मकन्या कलेजको सभाहलमा विमोचन गर्दै साहित्यकार प्रश्रितले सो कुरा भन्नु भएको हो ।

एक सय पाँच शिर्षकका लेख रहेको २०५ पृष्ठको सो पुस्तकमा नेपालको शिक्षा क्षेत्रको विकासको अनुसन्धान तथा विगत ५० वर्षमा लेखकले भोगेका शैक्षिक क्षेत्रका संस्मरण पढ्न पाइन्छ । पुस्तकको मूल्य रु. ३०० रहेको छ ।

प्राज्ञ नमुना शर्मा, साहित्यकार तीर्थराज वन्त, रमेश पौडेल लगायतले पुस्तकको सान्दर्भिकता बारे कार्यक्रममा जानकारी गराउनुभएको थियो । खरीले लेखेको र धुलौटेमा कोरेको अवस्थामा गरिएका अनुभवहरूले सुनाउनुभएको थियो ।

प्रकाशक हेड्स नेपालका केन्द्रीय सदस्य दिव्यराज पौडेलले भन्नुभयो: संस्थाको यो छैटौँ प्रकाशनले नेपालको शिक्षा इतिहासलाई नजिकबाट नियाल्न मद्यत पुग्नेछ र अभिभावक, विद्यार्थी तथा शिक्षकलाई यो उपयोगी रहने छ ।

हेड्स नेपालका अध्यक्ष वरिष्ठ इन्जिनियर ईश्वरचन्द्र बानियाको अध्यक्षता र पुष्पा खनालबाट सञ्चालित कार्यक्रममा संस्थाका महासचिव रामकृष्ण धरेलले सहभागीलाई स्वागत गर्नुभएको र संस्थापक प्रतापराज वन्तले धन्यवाद दिनुभएको थियो । लेखकको यो दोस्रो प्रकाशित कृति हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू