अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

चौका दाउको फस्ट लुक्स

बिआरटीनेपाल २०७५ पुष ८ गते ९:५६ मा प्रकाशित

काठमाडौँ, यही २७ पुषबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘चौका दाउ’को फस्ट लुक्सको रूपमा तीन ओटा पोस्टर रिलिज गरिएको छ । एक साता अघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आइतबार पोस्टर रिलिज गरेको हो ।

मनोज राजभण्डारी र सौर्य जीत बास्कोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । यो चलचित्रको पोस्टरमा मुख्य कलाकारहरूलाई उनीहरूको चरित्रमा उतारिएको छ । ३० बाई ४० को दुई मध्य एउटा पोस्टरमा सिनेमाका चार जुवाडे रबीन्द्र झा, विल्सन विक्रम राई, तैयब शाह र सन्तोष पन्त जुवा हारेपछि नाङ्गै गाडीमा घर फर्किएको देखाइएको छ । जसमा कलाकार सोनीका केसीलाई मदिराको सुराही सहित प्रस्तुत गरिएको छ ।

३० बाई ४० को अर्को पोस्टरमा रबिन्द्र झलाई मधेसी, सन्तोष पन्तलाई सिख, तैयव शाहलाई मुस्लिम र विल्सन विक्रम राईलाई हिमाली भेषमा उतारिएको छ । यही पोस्टरमा यी चार जना अभिनेत्री वर्षा राउतसँग केन्द्रित भएको वर्षाको तस्बिरले जनाउँछ । साथै अभिनेता अजश्र ढुङ्गाना, निर्मल शर्मा, योगी विकाशनन्द, शिवशङ्कर रिजाल (जोगिन्दर पानवाला) लाई पनि समेटिएको छ । अर्को सिक्स सिटरको पोस्टरमा पनि यी सबै कलाकारलाई समेटिएको छ ।

चौका दाउका परिकल्पनाकार एवम् वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा हुन् । साँढे चार दशकदेखि आफू चलचित्र एवम् सङ्गीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको उनले बताएका छन् । चौका दाउ हास्य प्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, सङ्गीत र गायन पनि बास्कोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा संवाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा वसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजित बास्कोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रङ्ग संयोजकमा भरत रेग्मी, निर्माण व्यवस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको ब्यानरमा निर्मित यो फिल्मलाई काठमाडौँमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुङ्गाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनीका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ । 

प्रतिक्रिया