अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

नेकपाको स्थायी कमिटी बैठक स्थगित

बिआरटीनेपाल २०७५ पुष ८ गते ६:१४ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गर्नुपरेको हो ।

गत मंसिर २९ गतेबाट जारी बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले प्रश्नसहित आआफ्नो धारणा राखेका थिए । स्थायी कमिटी सदस्यहरुले सरकारको कामकारवाही र नेतृत्वको कार्यशैलीका बिषयमा गम्भीर प्रश्न गरेका छन् । दुई तिहाईको सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको र अलोकप्रियता बढ्दै गएको भन्दै पार्टीको साख जोगाउन उनीहरुले अध्यक्षद्वयलाई दबाब दिएका थिए ।

बैठक स्थगित भएसंगै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको जवाफ कुरेका पार्टीका वरिष्ठ नेता र स्थायी कमिटी सदस्यहरु पुनः अन्यौलमा परेका छन् । प्रधानमन्त्रीको कार्यव्यस्तता देखाउँदै पार्टीको महत्वपूर्ण बैठकलाई टाल्ने प्रयास गरिएको केही नेताले बताएका छन् । नेकपाका स्थायी कमिटी सदस्यको दबाबका कारण बैठक आह्वान गरिएको थियो ।

आज अपराह्न साढे ४ बजे बस्ने भनिएको बैठकमा ओली र प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यतालिका थियो । अर्काे बैठक मंसिर ११ गते बुधवार बस्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू