अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापा बीच अर्थपूर्ण भेट

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:१३ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच शुक्रबार पोखरामा भेटवार्ता भएको छ । १५ दिने भ्रमणका क्रममा पोखरा बस्नुभएका पूर्वराजा शाहलाई पार्टी कार्यक्रमको सिलसिलामा पोखरा आएका थापाले शुक्रबार विहान भेट्नुभएको हो । पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष थापा पोखरा १७ दोबिल्लास्थित माउण्ट ग्लोरीमा पुग्नुभएको थियो ।

भेटका अवसरमा शाह र थापाबीच करिब सवा एक घण्टा कुराकानी भएको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । शाह र थापाबीच विहान ९ बजेदेखि सवा १० बजेसम्म कुराकानी भएको थियो । भेटमा पूर्व राजा शाहले देशको बिग्रदो अवस्थाप्रति चासो राख्दै चिन्ता व्यक्त गर्दै देशका अन्य समसामयिक विषयमा पनि चासो राखेको बताईएको छ ।

पौडेलका अनुसार भेटमा राप्रपा अध्यक्ष थापाले राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीलगायतको माग राख्दै फागुन ७ गतेदेखि जनसंघर्ष गर्न लागेको जानकारी पुर्व राजा शाहलाई गराउनुभएको थियो । थापाले पार्टी एकीकरणमा देखिएको समस्या र हुनसक्ने सम्भवनाबारे पनि जानकारी गराएको बताईएको छ ।

पूर्वराजा शाह र राप्रपा अध्यक्षबीच शुक्रबार भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह पुस २ गते १६ दिनका लागि पोखरा आउनुभएको हो भने राप्रपा अध्यक्ष थापा बिहीबार पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन पोखरा आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू