अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

प्रतिनिधिसभा र राष्ट्रियसभा हिउँदे अधिवेशनको तयारी पूरा

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:१० मा प्रकाशित

संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसकेको सन्दर्भमा सचिवालयले हिउँदे अधिवेशनको तयारी पूरा गरेको हो ।

अधिवेशन सञ्चालनका लागि आवश्यक पर्ने माइकलगायतका सम्पूर्ण उपकरण चुस्त र व्यवस्थित पाइएको सचिवालयका सचिव डा भरतराज गौतमले जानकारी दिनुभयो । संसद्को आफ्नो भवनको अभावमा सचिवालयले विगत १० वर्षदेखि अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद्को अधिवेशन सञ्चालन गर्दै आएको छ । सचिवालयले प्रत्येक अधिवेशन शुरु गर्नुअघि संसद् भवन र त्यहाँ जडान भएका उपकरणको मर्मत सुधार गर्दै आएको छ ।

हिउँदे अधिवेशनको रुपमा रहेको यो अधिवेशनले खासगरी सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझा सूचीका रुपमा रहेका विषयवस्तुको सम्बोधन गर्ने तथा संविधानसँग बाँझिने पुराना कानूनलाई संविधानसम्मत तुल्याउने गरी कानून निर्माण गर्नेछ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, महासचिव मनोहरप्रसाद भट्टराईलगायतले नयाँबानेश्वरस्थित सङ्घीय संसद्का दुवै सदन सञ्चालन हुने सभाहलको आज निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू