अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

समुदाय र प्रहरीवीच साझेदारी आवश्यक – कास्की प्रहरी प्रमुख ओम राना

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:०७ मा प्रकाशित

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पृथ्वी होटल व्यवसायी समितिमा अन्तक्र्रिया सम्पन्न भएको छ । समितिको सभाकक्षमा आयोजित अन्तक्र्रियामा बोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले शान्ति सुरक्षा कायम गर्ने काममा प्रहरीको मात्र नभई समुदायको पनि उत्तिकै दायित्व हुने बताउनुभयो ।

पछिल्लो समयमा शान्ति सुरक्षा कायम गर्नु, विकृति विसंगति एवं अपराध रोक्ने कार्य चुनौतिपूर्ण बन्दै गएको उल्लेख गर्दै उहाँले समुदाय, प्रहरी, विभिन्न संघ संस्थाको सहकार्यले मात्र शान्ति सुरक्षा बहाल हुने बताउनुभयो । अपराध रोकथाम तथा अपराध भइसकेपछि पनि त्यसको सही अनुसन्धानका लागि सबैको सहयोगक आवश्यक हुने प्रहरी प्रमुख रानाको भनाई थियो ।

कानुन विपरीतका कार्यले व्यक्ति स्वयं, परिवार र समाजमा समेत गम्भीर असर पर्ने हुँदा आफ्नो घर परिवार एवं समाजमा सकारात्मक वातावरण सिर्जना गर्नु सबै दायित्व हुने उहाँको धारणा रहेको छ । मदिरा सेवन र लागू औषध सेवनका कारण आपराधिक घटना हुने गरेको भन्दै प्रहरी प्रमुख रानाले यसबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो । मदिरामा कडाई गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

होटलमा बस्न आउने पाहुनालाई सत्कार गर्नुपर्ने तर शंका लागेमा प्रहरीलाई खबर गरेमा सहज हुने उहाँको भनाई थियो । व्यवसायीहरुले साँझमा चाँडै नै होटल बन्द गर्नुपर्ने, होटलमा बस्न आउने सबैको नियत थाहा नहुने, ग्राहकले गर्ने गल्तीको भागीदार होटल सञ्चालकलाई बनाइएको गुनासो गरेका थिए ।

जवाफमा प्रहरी प्रमुख रानाले सही ढंगले लोभ लालचा नराखी कार्य गरेमा समस्या नहुने बताउनुभयो । साना बालबालिका आएमा उनीहरुलाई होटलमा बास दिन नहुने र शंका लाग्ने वित्तिकै प्रहरीलाई खबर गरेमा समस्या नहुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू