अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी समकक्षी पम्पेओबीच भेटवार्ता – सहकार्यलाई अझ फराकिलो बनाउन सहमत

बिआरटीनेपाल २०७५ पुष ४ गते ६:११ मा प्रकाशित

नेपाल र संयुक्त राज्य अमेरिकाबीच सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल रिचार्ड पम्पेओबीच भएको भेटवार्तामा दुवै पक्ष सम्बन्धलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका हुन् ।

दुई विदेशमन्त्रीबीच गए राति वासिङ्गटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ता भएको थियो । डिसीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध आयामहरूमा छलफल भएको थियो। सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारका प्राथमिकताहरू माथि प्रकाश पार्नुभएको थियो ।

’उच्च स्तरीय भ्रमणहरूको आदान प्रदानको माध्यमबाट राजनैतिक सम्बन्धलाई बढावा दिने तथा व्यापार, लगानी र विकास सहायता जस्ता आर्थिक सहयोगको क्षेत्र अभिवृद्धि गर्ने विषयमा विचारहरूको आदान प्रदान भयो’ विज्ञप्तिमा भनिएको छ, ’उहाँहरूले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट परियोजनाको शीघ्र कार्यान्वयन तथा यसका फाइदाबारे चर्चा गर्नुभयो।’

विदेशमन्त्रीहरुको भेटवार्ता अघि परराष्ट्र सचिव शंकरदास वैरागी र अमेरिकी एक्टिङ एसिस्टेन्ट सेक्रेटरी अलिस जी. वेल्सले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच नेपाल(संयुक्त राज्य अमेरिका राजनीतिक परामर्श बैठक भएको थियो। बैठकमा नेपाल सरकारका विकास प्राथमिकता, द्विपक्षीय सम्झौताको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट परियोजनाको प्रगति, नेपालको शान्ति प्रक्रिया, विकास सहायता, व्यापार, लगानीका साथै क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय चासोका विषयहरूमा छलफल भएको बताइएको छ।

हाल परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल दुई पक्षीय भेटवार्ताका लागि अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा छ। प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव वैरागी, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, गृह मन्त्रालयका सहसचिव महादेव पन्थलगायत छन्।

परराष्ट्रमन्त्री ज्ञवालीको मिलेनियम च्यालेन्ज कर्पोरेसन, राष्ट्रिय सुरक्षा परिषद् र रक्षा मन्त्रालयका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया