अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

नेकपाभित्र मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न, मन्त्रिमण्डल पुनर्गठन गर्न माग

बिआरटीनेपाल २०७५ पुष ४ गते ५:४७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा सदस्यहरुले मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न गर्दै मन्त्रिमण्डल पुनर्गठनको माग गरेका छन् । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुले चर्काे दबाब दिएका हुन ।अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि विचार राख्ने क्रममा स्थायी समिति सदस्यहरुले केही मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिएको बताईएको छ ।

आजको बैठकमा नेताहरु रघुजी पन्त र भीम आचार्यलगायतले सरकारको कामकारवाही र छवी सुधार गर्नका लागि मन्त्रीमण्डल पुनर्गठनको आवश्यकता रहेको बताउनुभएको थियो । उहाँहरुले जतिसक्दो चाँडो मन्त्रीमण्डल पुनर्गठन गरेर सरकारको छवी उज्यालो पार्नुपर्ने धारणा राख्नुभएको बुझिएको छ ।

यता केही स्थायी समिति सदस्यहरुले एसिया प्यासिफिक सम्मेलनमा सरकारी संलग्नतामाथि प्रश्न उठाएका छन् । उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् । छलफलमा भाग लिने अधिकांश नेताहरुले विवादास्पद सम्मेलनमा सरकारको सहभागितामा प्रश्न उठाएका हुन् ।

बैठकमा देव गुरुङ, रघुवीर महासेठ, भीम आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले आफ्नो धारणा राखेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक मानिएका नेताहरुले नै एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको चर्को आलोचना गरेका छन् । सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरुले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू