अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

भण्डारी मेरिल्याण्ड राज्य सरकार सञ्चालन कमिटीमा चयन

बिआरटीनेपाल २०७५ पुष ३ गते २०:३४ मा प्रकाशित

मेरिल्याण्ड, अमेरिकाको मेरिल्याण्ड जनरल एसेम्वलीका सभामुखको अफिसले डिष्ट्रिक आठबाट निर्वाचित हयारी भण्डारीलाई सरकार सञ्चालन तथा स्वास्थ्य समिति (हेल्थ एण्ड गभरमेन्ट अपरेसन) को सदस्यमा नियुक्त गरेको छ । यो समितिले मेरिल्याण्ड राज्य सरकारको सञ्चालनको विभिन्न पाटाहरु तथा नागरिकको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य सम्बन्धी कानुन तर्जुमा र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाउसमा पाँच वटा मुख्य कमिटीहरू हुन्छन् । त्यस मध्ये यो कमिटी मुख्य मानिन्छ ।

यो समितिले गर्ने अन्य कामहरूमा राज्य सरकारको निकायहरूको समन्वय र सञ्चालनमा हाउसले गर्ने विभिन्न कार्यहरूको लागि कानुन बनाउन उक्त कमिटीले पास गरेपछि मात्र हाउसमा प्रवेश गरी आवश्यक प्रक्रिया पूरा गरी नीति नियम बन्नेछ । साथै उक्त समितिले प्रशासनिक कानुन , खरिद, मानव संसाधन, रियल स्टेट तथा व्यक्तिगत सम्पत्ति सम्बन्धी कानुन तर्जुमा गरी कार्यान्वयनमा पठाउने पनि गर्दछ ।

यसै गरी स्वास्थ्य सम्बन्धी सरोकार राख्ने स्वास्थ्य सुविधा,उत्पादन र उपकरण ,दीर्घकालीन स्वास्थ्य सेवा,स्वास्थ्य बिमा,स्वास्थ्यकर्मीहरूको सेवा, त्यस सम्बन्धी अनुसन्धान गर्ने निकायहरूलाई अनुगमन,समन्वय र सहयोग गर्ने सम्बन्धी कानुन समेत सोही समितिले गर्ने गर्दछ । स्मरणीय छ, स्वास्थ्य सम्बन्धी अध्ययन र अनुसन्धानमा मेरिल्याण्डका विश्वविद्यालय तथा स्वास्थ्य संस्थाहरू विश्व कै अग्रणी संस्थाको रूपमा लिईन्छ । मेरिल्याण्डमा ठुला सत्तरी वटा विश्वविख्यात अस्पताल रहेका छन् । जसमध्ये जोन हपकिन्स विश्वविद्यालय विश्व कै उत्कृष्ट अनुसन्धान केन्द्र हो । यसमा नयाँ रोगको भ्याक्सिन र औषधिको आविष्कार गरिन्छ । ३६ जना नोबेल पुरस्कार प्राप्त चिकित्सकहरूले उक्त अस्पतालमा काम गरिसकेका छन् ।

भण्डारीले राज्यको महत्त्वपूर्ण कमिटीमा चयन भएपछि प्रतिक्रिया दिँदै आफूलाई यसले जनताको जीवनमा परिवर्तन गर्ने काम गर्न थप उत्साहित बनाएको बताउनुभयो । भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा हुँदैछ । साथै फ्रेण्डस अफ हयारी भण्डारीले आगामी जनवरी ६ तारिखमा एक भव्य कार्यक्रम गर्न लागेको जनाएको छ, यसमा सहभागिता जनाउन अनलाइन मार्फत नाम दर्ता गराउन गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू