अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

मैले कसरी लेख्न सिके

दीपेश घिमिरे २०७५ पुष ३ गते ११:१३ मा प्रकाशित

अनुभूति
मेरो पुस्तक ‘समाज र भ्रष्टाचार’ निस्किएपछि एक जना पाठकले इमेल गर्नुभयो जसलाई म विगत लामो समयदेखि चिन्थे । उहाँले लामो इमेलको पुछारमा लेख्नुभयो वास्तवमा तपाईँले कसरी लेख्न सिक्नुभयो ? मैले उहाँलाई छोटो इमेल रिप्लाई गरेको थिए । जसमा उहाँको प्रश्नको जवाफ मैले एक शब्दमा दिएको थिएँ – सङ्घर्षबाट । मलाई थाहा छ ती मेरा मित्रले उक्त जवाफबाट खासै चित्त बुझाउनु भएन । किनकि उहाँको नजरमा मैले लेखनकै लागि भनेर कुनै सङ्घर्ष गरेको थिइन जति सङ्घर्ष एउटा जागिरको खोजीमा गरेको थिएँ । यद्यपि सन् २०१५ पछि हरेक वर्ष मेरो एउटा पुस्तक निस्किरहेको छ । अनुसन्धानात्मक लेख रचना पनि नियमित रूपमा जर्नलमा प्रकाशित भइरहेका छन् । पत्रपत्रिकामा त नियमित जसो लेख लेखिरहेको छु । त्यसैले धेरैले मलाई सोध्ने एउटा प्रश्न हुन्छ ‘तपाईँले कसरी लेख्न सिक्नुभयो ?’

यो छोटो लेखमा मैले एउटा दुर्गम गाउँमा जन्मी हुर्की विद्यालय पढेको बच्चाले कसरी लेख्न सिक्छ भन्ने बारेमा आफ्नो अनुभवलाई समेटेको छु । वास्तवमा विद्यार्थीमा सृजनशील लेखनको सीप तथा क्षमता बढाउन सकिएको छैन । नीति निर्माता, शिक्षक, अभिभावक, सरकार तथा विद्यार्थी सबैको साझा टाउको दुखाइ बनेको छ । के सामुदायिक के संस्थागत दुवै खाले विद्यालयमा यो समस्या पहाड झैँ तेर्सिएको देखिन्छ । सामुदायिक विद्यालयका आफ्नै किसिमका समस्याहरू छन् । सामुदायिक विद्यालयमा नियमित अध्ययन अध्यापन नहुने डरलाग्दो समस्या छ । अध्ययन अध्यापन भएको समयमा पनि विद्यार्थीलाई सृजनशील बन्न नभई सुगा बन्न प्रेरित गरिरहेका छौँ । यो अवस्था संस्थागत विद्यालयको हकमा झन् डरलाग्दो छ । संस्थागत विद्यालयमा नियमित अध्ययन अध्यापन हुने भए पनि विद्यार्थीलाई घोकाउने अनि परीक्षामा त्यही घोकेको कुरा लेख्न लगाउने र उच्च अङ्कक प्राप्त हुने मार्क सिट (ग्रेड सिट) प्राप्त गर्ने भन्दा माथि न त शिक्षकले सोचिरहेका छन् न त अभिभावकले नै अपेक्षा गरेका छन् । उच्च अङ्क (ग्रेड) ल्याउँदैमा आफ्नो विद्यार्थी वा बालबच्चाले राम्रो गरिरहेको छ भन्ने भ्रममा शिक्षक र अभिभावक रूमल्लिरहेका छन् । विद्यार्थी त यो कुहिरो भित्र नराम्रोसँग हराइरहेका छन् । विद्यार्थीलाई सृजनशील लेखनमा उत्प्रेरित गर्न सकिएको छैन ।

विद्यार्थीलाई कसरी सृजनशील बनाउन सकिन्छ ? वास्तवमा यो प्रश्नको सरल र सहज जवाफ छैन । मैले आफ्नो विद्यालय जीवन ग्रामीण क्षेत्रमा व्यतित गरे । त्यहाँको केही अनुभव र आजको दिनको अध्ययन अध्यापनको अनुभवलाई सँगै राखेर विद्यार्थी किन सृजनशील बन्न सकिरहेका छैनन् र कसरी बनाउन सकिएला भन्ने बारेमा कलम चलाउने दुष्प्रयास गर्दैछु । थाहा छैन कति न्याय गर्न सक्छु ।

सुरुवात आफ्नो विगतको अनुभवबाट गर्न चाहन्छु । रामेछापको एक दुर्गम गाउँको विद्यालयमा केही समस्या, केही असजिला र केही असन्तुष्टिले म कक्षा नौबाट सदरमुकाममा अध्ययनका लागि पुगेको थिएँ । कक्षा आठसम्म पढेको विद्यालयमा मैले पाठ्यपुस्तक भन्दा बढी कुनै पुस्तक देख्न पाएको थिइनँ । पाठ्यपुस्तकमा भएका केही कथा तथा निबन्ध भन्दा बाहेकका कुनै पनि बाहिरी पुस्तक विद्यालयमा पढ्न पाइनँ । मैले विद्यालय जीवनमा विद्यालयमा पुस्तकालय पनि हुन्छ भन्ने कुरा थाहै पाइनँ । विद्यालयमा वर्षमा एक पटक जस्तो हाजिरिजवाफ प्रतियोगिता ‘कलम ठुलो कि तरबार ?’ भन्ने भन्ने विषयमा हुने वतृत्वकला प्रतियोगिता बाहेक अन्य कुनै प्रतियोगिता भएको याद छैन । शिक्षकले कहिल्यै केही लेख्ने, सृजनशील हुने, विद्यार्थीलाई पनि त्यसका लागि उत्साहित गर्ने गरेको थाहा छैन । विद्यार्थी सृजनशील हुने हो । आफैँले सोचेर र विचार गरेर कुनै कथा, कविता, निबन्ध वा अन्य केही कुरा लेख्न सकिन्छ भन्ने बारेमा विद्यालयले कहिल्यै सिकाएन ।

यद्यपि मेरो घरको वातावरण अलि फरक थियो । मेरो बुवा एक सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । उहाँले आफ्नो कार्यालयमा आउने गोरखापत्र सङ्कलन गरेर घरमा लगिदिनु हुन्थ्यो । पुराना गोरखापत्रका प्रतिहरू म नियमित रूपमा पढ्थेँ । जुन कक्षा ४ तिरबाटै सुरु भएको हुनुपर्छ । पुरानै भए पनि गोरखापत्रमा प्रकाशित हुने विभिन्न समाचार, लेख रचना पढ्दै जाँदा त्यसले किताब भन्दा बाहिरको दुनियाँ पनि हुँदो रहेछ र लेख्न सकिँदो रहेछ भन्ने कुरा बिस्तारै दिमागमा भरिँदै गयो । त्यही बेलामा गोरखापत्र संस्थानबाटै प्रकाशित हुने मुना, युवा मञ्च अनि अर्को बाल पत्रिका सुनकेस्राको म नियमित पाठकजस्तै भए । मेरो ठुलो दाजुले आफूलाई पढ्नका लागि लैजानुहुने युवा मञ्च तथा हाम्रै लागि लगिदिनुहुने मुना र सुन केस्रा अनि नव युवा मैले नियमित पढ्न पाएँ ।

मैले मुना तथा सुनकेस्रामा साथी बनाऔंमा फोटोसहित आफ्नो ठेगाना पनि उल्लेख गरेर पत्रिमित्रता स्तम्भमा निकै पटक प्रकाशित गरे । यो साथी बनाऔंमा आफ्नो परिचय प्रकाशित भएपछि देशभरका विभिन्न साथीहरूले पत्र पठाउन थाल्नुभयो । मैले एक एक गरी ती पत्र मित्र साथीहरूलाई पत्र पठाउँदै गएँ । यसरी लेखिने पत्रमा आफ्नो विद्यालय, आफ्नो गाउँघर, आफ्नो परिवार, आफूले भर्खरै मनाएको चाडपर्व, आफूलाई मन पर्ने वैज्ञानिक, आफूलाई साह्रै राम्रो लागेको पत्रिकाको कथा आदिका बारेमा लेख्थेँ । पत्र मित्र साथीहरूले पनि उहाँहरूका बारेमा यस्तै यस्तै रमाइला र प्रेरणादायी सूचना तथा सामग्रीहरू लेखेर पठाउनुहुन्थ्यो । त्यसबेलाका कतिपय पत्र मित्र साथीहरू अहिले पनि मेरा निकट साथी छन् । पछि कामको सिलसिलामा जिल्लाको भ्रमणमा जाँदा कतिपय साथीको घरमा समेत पुग्न पाएँ ।

पत्रपत्रिकाको नियमित अध्ययन र नियमित पत्र मित्र साथीको लागि लेखिने पत्रले मलाई म केही लेख्न सक्छु भन्ने आत्मविश्वास बढाउँदै लग्यो । विद्यालयमा लेख्ने र लेखेको बारेमा चर्चा परिचर्चा गर्ने वातावरण नभए पनि घरमा बाहिरी दुनियाँ पढ्ने र त्यसलाई लेख्ने थोरै वातावरण थियो । यति मात्र होइन म गाईबस्तु हेर्न जङ्गल जाँदा त्यो जङ्गलका बारेमा एक्लै बोल्दै वर्णन गर्थेँ । बिदाको दिन सानो रेडियो साथै लैजान दिने सर्तमा म जङ्गलमा गाईबस्तु हेर्न जान्थेँ । उक्त समयमा रेडियोमा बोलेजस्तै गरी जङ्गलमा बोल्ने गर्थे । केही सिकेर, केही थाहा पाएर र कसैले सिकाएर होइन । आफ्नै मनबाट स्वतःस्फूर्त रूपमा आएर म यस्तो काम गर्थेँ । परिणामतः म कुनै कुरालाई सहजै र सरल किसिमले व्याख्या गर्न सक्ने भएछु । त्यसैले विद्यालयको परीक्षामा पनि मलाई यसले फाइदा नै गथ्र्यो । यसले एकातर्फ मलाई शब्द शब्दलाई खिपेर वाक्य बनाउन सहज बनायो भने अर्कोतर्फ आत्मविश्वास पनि भर्दै गयो । परिणामतः म राम्रो नभए पनि सानातिना कविता तथा निबन्ध लेखेर मुना, सुन केस्रा तथा केही हवाई पत्रिकामा पठाउँदै छाप्ने भइसकेको थिएँ ।

दुर्गम स्थानमा बसेर पढ्नुका केही सिमितता हुन्छन् । जहाँ जीवनको खास लक्ष्य वा सपना नै हुँदैनन् । विद्यालय जीवनभरि म पनि सपना र लक्ष्य विहीन थिए । जीवनको खास लक्ष्य र उद्देश्य विना नै मैले कक्षा आठ सम्मको पढाइ सकेको थिएँ । कक्षा नौमा पढ्नको लागि मन्थली स्कुलमा पसेको थिएँ । थोरै थोरै लेख्ने कलासहित मैले विद्यालय परिवर्तन गरेको थिएँ । नयाँ विद्यालयमा पनि त्यस बेलामा पुस्तकालय थिएन । पाठ्यपुस्तक भन्दा बाहिरको पुस्तक पनि पढ्नुपर्छ भन्ने वातावरण उक्त विद्यालयमा पनि थिएन । यद्यपि नयाँ विद्यालयमा नियमित पढाइ हुन्थ्यो । शिक्षकले नियमित रूपमा कक्षामा पढाउने र पढाइ सँगसँगै छलफल पनि हुन्थ्यो । नयाँ विद्यालयमा अलिकता मात्रै भए पनि सृजनशील लेखनको महत्त्वका बारे बुझ्न पाएँ । उक्त विद्यालयका शिक्षक पेशल आचार्य लगायतका केही सरहरूले नियमित रूपमा लेखन कार्य गर्दै आउनु भएको थियो । उहाँहरूको लेखनलाई थोरै भए पनि नियमित रूपमा अनुसरण गर्ने प्रयास गरेँ । त्यसले मलाई फाइदा नै भयो ।

कक्षा नौपछि मेरो बसाइ मन्थली मै भयो । मैले नियमित रूपमा पत्रपत्रिका सहजै पढ्न पाएँ । बालपत्रिकाहरू नियमित रूपमा मन लागे जति पढ्न पाएँ । कुनै कुनै मन लागेको किताब पढ्न पाएँ । कहिलेकाहीँ कविता वाचन प्रतियोगितामा भाग लिन पाएँ । साथीहरूसँग वादविवादमा भाग लिएँ । सामान्य ज्ञानका पुस्तक पढ्न पाएँ । यद्यपि यस्तो सामान्य ज्ञान मैले घोक्न भन्दा पनि त्यस्ता तथ्य तथ्याङ्कलाई मिलाएर लेख वा निबन्ध लेख्ने प्रयास गर्न थालेँ । यसरी लेखेका केही निबन्ध बालपत्रिकामा छाप्न थालेँ । मैले विद्यालयमा अध्ययन गर्दा गर्दै त्यसबेलाका गोरखापत्र तथा अन्य राष्ट्रिय दैनिकमा पाठकपत्र वा छोटा छोटा विचार पनि प्रकाशित हुन थालिसकेका थिए ।

अर्को महत्त्वपूर्ण कुरा भनेको मैले त्यस बेलामा नियमित रूपमा डायरी लेख्थेँ । डायरीमा म मूलतः दुईवटा कुरा लेख्थेँ पहिलो दैनिकी र दोस्रो मन लागेका कुनै पनि कुरा । दैनिकीले मलाई दिनभरिको कुरालाई कसरी व्यवस्थित किसिमले लिपिबद्ध गराउने भन्ने कुरा सिकाउँदै लग्यो भने मन लागेको कुरा लेख्नाले मलाई केही न केही त लेख्नै पर्छ भनेर केही न केही पढ्न प्रेरित ग¥यो । हरेक दिन लेखिएका कतिपय डायरी त अझै पनि मसँग छँदैछन् । यस बिचमा पत्रभित्रको सङ्ख्या झनै बढेर गएका थिए । ती साथीहरूलाई महिनामा कम्तीमा पनि दश वटा पत्र लेख्थेँ । हरेक दिन डायरी लेख्थेँ । कुनै नयाँ कुरा पढेँ भने आफ्नो सन्दर्भमा त्यसलाई पुनर् लेखन पनि गर्थेँ । यसले मलाई लेखनमा रुचि बढायो । हौस्यायो । लेख्न प्रेरित ग¥यो ।

हुन त म जस्तै गाउँ घरका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्य कुरामा बढी हुने रहेछ । गाउँमा घाँस दाउरा, मेलापातमा व्यस्त रहन्छन् भने सदरमुकामका विद्यालयहरूमा चुलबुले, चकचक, अधैर्य खेलकुद, दौडधुप र अनावश्यक सवालहरूमा सक्रियता व्यापक हुन्छ । म पनि यसबाट अपवाद थिइनँ । हो म केही पढ्थेँ तर पढाइ भन्दा मेरो सक्रियता अन्यत्रै बढी थियो । म अधैर्य थिएँ । म अस्थिर थिएँ । म अहिले पनि सम्झिन्छु स्कुल माथिका डाँडा, जङ्गल ती सल्लाका रूखहरू, ती सतिबेर र वनमाराका झाडीहरू सबैतिर दौडिन्थेँ । म मात्र होइन मेरा धेरै साथीहरू उस्तै थियांै । त्यस्तो अस्थिर, अधैर्य, चुलबुले अनि पढाइमा भन्दा अन्य कुरामै बढी ध्यान दिने गर्दथ्यांै । यद्यपि यी सबै बचपनका गतिविधिले सोच्ने, त्यसलाई बुझ्ने र हेर्ने विहङ्गम दृष्टि दिँदो रहेछ । त्यसले पनि सृजनशील लेखनमा मलाई प्रेरित ग¥यो जस्तो लाग्छ ।

दस जोड दुई सकेपछि म काठमाण्डू भित्रिएँ । काठमाडौँ भित्रिँदा मसँग विभिन्न शब्द शब्द मिलाएर आकर्षक वाक्य बनाउने कलाबाहेक केही थिएन । कसैसँग कुनै अपेक्षा थिएन न त कसैको कुनै आशीर्वाद नै थियो । मैले काठमाडौँमा त्यही शब्द शब्दलाई मिलाएर वाक्य बनाउने र त्यसलाई लयात्मक किसिमले प्रस्तुत गर्ने काममा बढी चासो दिएँ । यो चासोले मलाई पत्रकारितामा पु¥यायो । यस बिचमा मैले लेखन मात्र नभई अध्ययनमा बढी जोड दिए । बजारमा आउने हरेक जसो पुस्तक पढ्थेँ । काठमाडौँ आएको एक वर्षको सङ्घर्षको अवधिलाई छाडेर भन्ने हो भने मैले काम पाए पछिको समयमा मैले एक अनुच्छेद नै सही म नपढी कहिल्यै पनि सुतिनँ । म हरेक दिन केही न केही पढ्थेँ । परीक्षाका नजिकनजिक क्याम्पसका पाठ्यपुस्तक बढी पढ्थेँ भने अन्य समयमा सममामयिक निबन्ध, उपन्यास, इतिहास, आत्म वृत्तान्त बढी पढ्थेँ । यसले मलाई सृजनशील लेखनमा निकै सहयोग ग¥यो ।

यस अवधिमा मैले रेडियो र पत्रिकामा एकसाथ काम गरेँ जसले मेरो लेखनलाई झन् निर्खादै लग्यो । यस बिचमा राष्ट्रिय दैनिकमा मेरा लेख, रचना तथा फिचर प्रकाशित हुन थाले । यसले मलाई अझ उत्साहित र उत्प्रेरित गर्दै लगे । सन् २०१२ मा मैले त्रिभुवन विश्वविद्यालयमा एम्फिल् अध्ययन सुरु गरेपछि अलि लामा लामा अनुसन्धानात्मक लेख लेख्न सिकेँ ।

यद्यपि सृजनशील लेखन कार्य कुनै पनि विद्यार्थीले स्व स्फूर्त लेख्न सुरु गरोस् भनेर शिक्षकले छाड्न मिल्दैन । हरेक विद्यार्थी सृजनशील हुन्छन् र उनीहरूलाई लेखन कलाको विकास गराइदिने हो भने धेरै कुरा लेख्न सक्छन् । यसका लागि विद्यालय मै यस्तो वातावरण निर्माण हुनुपर्छ । विद्यालयमा हरेक हप्ता सृजनशील लेखनका कार्यशाला गर्न सकिन्छ । सृजनशील लेखन प्रतियोगिता गरेर विद्यार्थीमा यस्तो कुराको रुचि भर्न सकिन्छ । हरेक विद्यालयमा भित्ते पत्रिका वा अन्य कुनै किसिमका पत्रिका प्रकाशित गर्ने र त्यसमा छाप्ने सामग्री विद्यार्थीलाई नै तयार गर्न जिम्मेवारी दिन सकिन्छ । विद्यार्थीलाई सृजनशील लेखनको महत्त्व बुझाउने, उनीहरूलाई मन लागेको कुरा पढ्नका लागि विद्यालयमा सानै भए पनि पुस्तकालयको व्यवस्था गर्न सकिन्छ ।

शिक्षक आफैँले पनि नियमित रूपमा केही लेख्ने विद्यार्थीलाई सुनाउने गर्न सकिन्छ । राम्रो निबन्ध, कथा, कविता लेखेका विद्यार्थीलाई विशेष समारोहमा उनीहरूको सिर्जनालाई प्रस्तुत गर्न वातावरण दिएर पनि प्रोत्साहित गर्न सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा विद्यालयमा सृजनशील वातावरणलाई प्रवर्द्धन गर्नुपर्छ । कुनै विद्यार्थीले कुनै नयाँ कुरा ग¥यो भने त्यसलाई प्रोत्साहित गर्ने वातावरण विद्यालयले अवलम्बन गर्ने हो भने विद्यार्थीहरूमा सृजनशील लेखनको विकास गर्न सकिन्छ ।

विद्यार्थीहरूको सिकारु हाँचका लेखन कलालाई गहिरो सृजनशीलतामा ढाल्ने र गाल्ने कुमाले भनेका नै विद्यालयका गुरुहरू हुन् । त्यसैले विद्यालयमा शिक्षकहरूले विद्यार्थीहरूलाई लेखन कलाका विविध आयाम र तौरतरिकाहरू सिकाउनु पर्छ ।

प्रतिक्रिया