अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

काँग्रसको विधानमा अझै जुटेन सहमति – महासमिति बैठकस्थल सार्ने तयारी

बिआरटीनेपाल २०७५ पुष ३ गते ६:१९ मा प्रकाशित

काँग्रेस केन्द्रीय समितिमा विधानका केही प्रावधानमा सहमति जुट्न नसकेपछि महासमिति बैठक लम्बिने र स्थान नै परिवर्तन गर्नुपर्ने भएको छ । पुर्वनिर्धारित कार्यतालिकाअनुसार महासमितिको बैठक सकिनुपर्ने समय पुस ३ गते अर्थात आज हो । तर यो मितिसम्म विधान मस्यौदा प्रतिवेदन नै बैठकमा पेश हुन सकेको छैन, जसका कारण बैठक लम्बिने भएको हो ।

काँग्रेसका अनुसार महासमिति बैठकका लागि रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस मङ्सिर २९ गतेदेखि पुस ३ गतेसम्मलाई मात्रै बुक गरिएको थियो । तर विधानमा सहमती नभएपछि बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा बैठक सार्नुपर्ने अवस्था आएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

नेता घिमिरेका अनुसार नेताहरूले अहिलेसम्म विधानमा सहमति जुटाउन सकिराखेका छैनन् । विधानको ७० पेजभन्दा ठूलो पुस्तिका प्रेसमा पठाएर छापिएर आउँदा एकदुई दिन लाग्न सक्छ । विधानमा जति चाँडो सहमति हुन्छ, त्यही आधारमा महासमितिको बैठक कति लम्बिने भन्ने टुङ्गो लाग्छ । नेता घिमिरेका अनुसार जसरी पनि विधानमा सहमति जुटाउनुपर्ने दबाब नेताहरूलाई बढेको छ । आज सहमति भए भोलिको बैठकमा विधान पेश हुने नेताहरूले बताएका छन् ।

काँग्रेस नेताहरूका अनुसार काँग्रेसको विधानमा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचन पद्धति के अपनाउने भन्नेमा मुख्य विवाद छ । सभापति शेरबहादुर देउवा पक्षले सभापति बाहेक दुई–दुई जना उपसभापति, महामन्त्री र सहमहामन्त्री राख्ने र त्यसमध्ये एकएकजना निर्वाचित हुने र एकएकजना मनोनित गर्ने प्रस्ताव गरेको छ । तर रामचन्द्र पौडेल समूहले पदाधिकारी सबै प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने अडान राखेका छन् । यसैमा कुरा नमिल्दा महासमिति बैठकमा विधान मस्यौदा नै पेश हुन सकेको छैन ।

कोषाध्यक्ष पनि निर्वाचनबाट ल्याउनुपर्ने प्रस्ताव पौडेल पक्षको छ भने देउवा पक्ष कोषाध्यक्ष र प्रवक्ता दुवै मनोनित हुनुपर्ने अडानमा छन् । देउवा पक्ष सभापतिले आफू अनकुलका व्यक्ति मनोनित गर्दा पार्टी सञ्चालमा सहज हुने तर्क गर्छन् ।  उनीहरू सबै पदाधिकारी निर्वा्चित भएर आएपछि सभापतिलाई असहयोग गरेको खण्डमा पार्टी सञ्चालनमा नै समस्या हुने दाबी गर्छन् । यता पौडेल पक्षका नेताहरू मनोनित पद्धतिले पार्टीमा चाकडीवाद हाबी हुने बताउँछन् ।

यता महासमिति सदस्यहरूले केन्द्रीय समितिबाट विधान पारित नभई महासमितिको बैठकमा छलफलमा नबस्ने अडान लिएका छन् । आजको बैठक सुरु हुनै लाग्दा नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले अगाडि गएर विधान नआएसम्म महासमितिमा अन्य विषयमा छलफल गर्ने नदिने भन्दै कड्किनुभएको थियो । यसमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले उहाँको माइक खोस्नुभएको थियो । माइक खोसेपछि केही महासमिति सदस्यहरूले प्रकाशशरण महतलाई धकेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू