अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

समायोजन अध्यादेशविरुद्ध कर्मचारी आन्दोलित

बिआरटीनेपाल २०७५ पुष १ गते १९:०८ मा प्रकाशित

काठमाडौं । सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तहका चारवटा ट्रेड युनियनले आन्दोलन सुरु गरेका छन्। निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दा आफूहरूको श्रेणीमा मानमर्दन गरेको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन्।

स्थानीय तह कर्मचारी संघ, नेपाल नगरपालिका कर्मचारी एसोसियसन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (स्थानीय तह) र स्थानीय कर्मचारी युनियन नेपालले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी अध्यादेश सच्याउनुपर्ने माग गरेका छन्। पेशागत स्थायित्व र कर्मचारी समायोजनाका लागि सबै सेवाबीच समान व्यवहार नभएको जिकिर गर्दै उनीहरूले अध्यादेश सच्चाउनु दबाब दिएका हुन्।

जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यरत कर्मचारी (अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालक)लाई सम्मानित ढंगले स्तरवृद्धिसहित समायोजन गर्नुपर्ने माग उनीहरूको छ। उनीहरूले काठमाडौं उपत्यकालगायत स्थानीय तहमा फोहोरमैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीको पेशागत सुरक्षाको प्रत्याभूति नगरी निजी क्षेत्रमा लैजान लागिएको त्यसको पनि विरोध गरेको छ।

कर्मचारीले सोमबार देशभरका स्थानीय तहका कार्यालय परिसरमै धर्ना दिने, मंगलरबार बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधी कलम बन्द गर्ने, बुधबार बिहान १० बजेदेखि दुई बजेसम्म सबै स्थानीय तहका कार्यालयमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने र बिहीबारदेखि कार्यालय समयभर कालोपट्टी बाँधी कलम बन्द गर्ने कार्यक्रम तय गरिएको छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू