अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

पूर्व र पश्चिम रुकुममा रेडक्रसलाई सहयोग

बिआरटीनेपाल २०७५ पुष १ गते १२:१२ मा प्रकाशित

पूर्व रुकुम जिल्ला समन्वय समितिको कार्यालयले रेडक्रसको नवगठित रुकुमपूर्व जिल्ला शाखाको रुकुमकोट स्थित कार्यालय सञ्चालन सहयोगार्थ फर्निचर तथा कार्यालय उपकरण उपलब्ध गराएको छ । शाखालाई कम्प्युटर टेबुल, दराज, कुर्सी र क्यामरा उपलब्ध गराएको तदर्थ समितिका संयोजक लोकेन्द्र वुढाथोकीले जानकारी गराउनुभएको हो । गत हप्ता जिल्ला समन्वय समिति, स्थानीय गाँउपालिकाहरुका जनप्रतिनिधिहरू, सरकारी र गैरसरकारी संस्थाहरू तथा राजनीतिक दलहरूका प्रतिनिधिहरूसँग रेडक्रसले रुकुमकोटमा आफ्नो गतिविधिहरू जानकारी गराउन औपचारिक छलफल कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा सहयोग र समन्वय बढाउन सरोकारवालासँस्थाहरुका प्रतिनिधिहरूले सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रेडक्रसको अन्तर्राष्टिय समितिका प्रतिनिधि कृष्ण चालिसे तथा नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले अन्तर्राष्टिय रेडक्रस र नेपाल रेडक्रसका विषयमा जानकारी गराउनुभएको थियो ।

सरकार र अन्य सवैपक्षको सहयोगमा रेडक्रस सञ्चालन हुने भएकाले नयाँ जिल्लामा रेडक्रसलाई काम गर्ने आधार बनाइदिन अनुरोध गर्दै नेपाल रेडक्रसका केन्द्रीय उपमहामन्त्री हरिप्रसाद न्यौपानेले भन्नुभयो: रुकुम पूर्व जिल्लाका भूमे, सिस्ने तथा उत्तरगंगा गाउँपालिकामा रेडक्रसका सदस्यहरू वितरण गरी उपशाखा विस्तार गर्ने र मानवीय सेवाको आधार तय गर्ने पहिलो प्राथमिकता हो ।

रेडक्रसको मानवीय सेवा, आदर्श र गतिविधिहरूबाट प्रभावित भई पूर्वी रुकुम जिल्ला समन्वय समिति सभापति गजेन्द्रबहादुर बलिले आफू तत्कालै रेडक्रसको सदस्य बन्ने घोषणा गर्दै सबैलाई रेडक्रसको सदस्य बनी सहयोग गर्न आह्वान गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सिस्ने गाउँपालिकाका प्रमुखले दुर्गम तथा नयाँ जिल्ला रुकुममा रेडक्रसको सङ्गठन मजबुत बनाइ राहत सामग्रीहरूको जोहो गर्न अत्यावश्यक रहेको वस्तुस्थिति औँल्याउनुभयो ।

यसै सिलसिलामा नेपाल रेडक्रसको सङ्गठनात्मक पक्ष सुदृढ गर्न आयोजित छुट्टै दुई दिने प्रशिक्षण कार्यक्रममा युवाहरूको आकर्षण बढेको पाइएको छ । तालिम पश्चात् स्थानीय युवा सुविनाले भन्नुभयो: रेडक्रसको युवा स्वयंसेवक भई काम गर्ने अवसर मिलेकोमा हर्षित छु ।

रुकुम पश्चिममा पनि कार्यक्रम:
यस्तै छलफल र पृष्ठ पोषण कार्यक्रम पश्चिम रुकुमको मुसिकोट खलङ्गामा पनि आयोजना गरिएको छ । गाउँपालिका र नगरपालिकाहरूमा विपद प्रतिकार्य योजना बनाउन र कार्यान्वयन गर्न रेडक्रसको सहयोगको लागि जनप्रतिनिधिहरूले आग्रह गर्नुभएको थियो । शाखा सभापति शिवराम खत्रीले पालिकाहरूको संरचना अनुसार उपशाखाहरूको विस्तार गरिने जानकारी गराउनुभयो । 

कार्यक्रममा मन्त्री रमा गौतमले रुकुम पश्चिमका गतिविधिहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय बस व्यवसायीका प्रतिनिधिले जिल्लामा सडक दुर्घटनाको जोखिम रहेकोले यातायात मजदुरहरूलाई प्राथमिक उपचारको तालिम तथा सामग्री उपलब्ध गराउन रेडक्रसलाई नगद सहयोग गर्न बजेट छुट्ट्याइएको सहभागीहरूलाई जानकारी गराउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू