अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

नेपाली काँग्रेस: भूत, वर्तमान र भविष्य (अबको दिशा निर्देश)

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ मंसिर २९ गते ९:०८ मा प्रकाशित

* नेपाली काँग्रेस निःसन्देह नेपाली राजनीतिको इतिहासमा एउटा युगान्तकारी र गतिशील पार्टी थियो । महामानव बी. पी कोइरालाद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आधारशिलामा स्थापित यो पार्टीले चार तारे झन्डाको मुनि गोलबद्ध भएर नेपालका हरेक क्रान्तिकारी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको कुरा कसैले अब फलाकी राख्नु पर्दैन । यो पार्टीको अतीत गौरवपूर्ण र ओजस्वी छ ।

* अहिलेको परिप्रेक्ष्यमा इमान्दारीपूर्वक भन्नु पर्दा नेपाली काँग्रेसले बाटो बिराउँदै आएको छ । सच्चा र विवेकशील कार्यकर्ता तथा नेताले ढाकछोप नगरी हक़ीक़त केलाउने हो भने यो पार्टीको वर्तमान नेतृत्वले बी . पीको विचारधारा र चिन्तनलाई तिलान्जली दिएर व्यक्तिगत तथा निहित स्वार्थको लागि काम गर्दै आएको छ ।

* वर्तमानलाई विहंगम दृष्टि पुर्‍याई, आत्मालोचना गर्दै, व्यक्तिगत नाफा- नोक्सानको जोड-घटावमा नलागी सिङ्गो राष्ट्र र जनताको बृहत्तर स्वार्थको खातिर कुशल र सक्षम नेतृत्व चयन गरेको खण्डमा नेपाली काँग्रेसको भविष्य झन् उज्यालो र कान्तिपूर्ण छ । तर, पुन: राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूलमंत्र र त्यसमा निहित आदर्श, गरिमा र मुलभावलाई कार्यान्वयन गर्न सक्नु पर्छ ।

• अबको बाटो कता हुनु पर्छ ? (दिशा निर्देश)
* नेपाली काँग्रेसले अब इतिहास भट्याएर जनता सामु जानुको कुनै तुक छैन । २००७ साल देखिको पास्नी, व्रतबन्ध, बिहे, हनिमुन र पारपाचुके (डिभोर्स) को कुराहरू अब जनता, मतदाता र कार्यकर्तामा बिक्दैनन् । (राख्नै पर्ने हो भने वेबसाइटमा राखे हुन्छ । सुन्दा- सुन्दा कान पाकी सके सबैका अब त । हरे शिव ।

नेपाली काँग्रेसले के गर्‍यो भन्दा पनि अहिले के गर्दैछ र अबको पाँच, दस र बिस वर्षमा के गर्छ जनता, मतदाता र कार्यकर्ता जान्न चाहन्छन् ।
सधैँभरि बाजे बराजुले घिउ खाएको कुरा गरेर समय खेर नफालौँ । आफ्नो र अरूहरूको मूल्य वान समय बर्बाद नगरौँ ।

* के गर्नु त अब ?
१. नेतृत्व शीघ्रातीशीघ्र परिवर्तन गरौँ । हालको नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर नयाँ नेतृत्वलाई बाटो प्रशस्त गरी दिनु पर्छ ।

२. नयाँ नेतृत्वले पुरानो नेतृत्वलाई सधन्यवाद बिदा गरी उनीहरूको सञ्चित अनुभव आवश्यक भएको खण्डमा लिनु पर्छ ।
३. पार्टीको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना र कार्यक्रम बनाउनु पर्छ ।
४. पार्टी काठमाण्डूमा निदाएर बस्नु हुन्न । गाउँ-गाउँमा पसेर व्यापक रूपमा सङ्गठन विस्तार गर्दै प्रशिक्षण कार्यक्रम चलाउनु पर्छ ।
५. नेपाली काँग्रेसलाई माया गर्ने सच्चा, इमानदार र देशभक्त कार्यकर्तालाई चिन्न सक्नु पर्छ ।

६. छद्मवेशी, क्षणिक र व्यक्तिगत निहित स्वार्थका खातिर आएका तथाकथित कार्यकर्ताको पहिचान गरी तिनीहरूलाई निरूत्साहित र प्रतिबद्ध कार्यकर्ताको मनोबल र भावनालाई उत्साहित बनाउनु पर्छ ।
७. कोठे राजनीति र गुटबन्दी बन्द गर्नु पर्छ ।
८. नेता भनाउँदा हरूले दम्भ, हठ र घमन्ड त्याग्नु पर्छ ।
९. मतदाता, कार्यकर्ता र जनतालाई माया, ममता, करुणा, शान्ति र विश्वास दिलाउन सक्नु पर्छ ।

* के हो सक्रिय सदस्यता ? किन, के को आधारमा दिईँदैछ ?
सन्प्रति, नेपाली काँग्रेसले धमाधम सक्रिय सदस्यता बाँडी रहेको छ । यति धेरै कार्यकर्ता सक्रिय रहेको पार्टीको हालत यस्तै हुनु पर्ने हो ? के र कुन कार्यमा सक्रिय छन् यति धेरै काँग्रेसी जनहरू ? नेपाली काँग्रेसले कुन विषय र कार्यमा कार्यकर्ता हरूलाई सक्रिय बनाई रहेको छ ? काठमाण्डूमा बसेर सक्रिय कार्यकर्ता हरू चिन्ने कुन वैज्ञानिक उपकरण आयो र यति सजिलो र छिटो. छरितो ढङ्गले सक्रिय कार्यकर्ता हरूको पहिचान भई रहेको छ । सक्रिय कार्यकर्ता निष्कृय भएको खण्डमा के गर्ने ?

विडम्बना । दिन- रात पार्टी प्रति प्रतिबद्ध भई बी.पी, काँग्रेस र चार तारे झन्डाका लागि कुटाई खाने, मरिहत्ते गर्ने र दिलोज्यान दिँदै आएको नेपाली काँग्रेसको जन्मजात सिपाहीले आज सक्रिय सदस्यताको प्रमाणपत्र पाएन तर पार्टीको नाममा सिन्को नभाँच्ने, कुनै कार्यक्रममा सहभागी नहुने, बी. पी. लाई नचिन्ने, चार तारे झन्डाको अर्थ नबुझ्ने त्यो निष्कृय प्राणी जस्केलाबाट आएर सक्रिय सदस्यता पाउने । हाय । नेपाली काँग्रेसका रथी- महारथीहरू ।

* नेपाली काँग्रेस भई नेपाली काँग्रेसलाई निर्देशन:
शीघ्रातीशीघ्र नेपाली काँग्रेसका बुद्धिजीवी, विचारक, विभिन्न विषयका ज्ञाता, अध्येता, अनुसन्धाता, सामाजिक अभियन्ता हरूको रोष्टर बनाई सल्लाह, सुझाव र निर्देशन लिई पार्टीलाई सशक्त र गतिशील बना ।
१. नेपाली काँग्रेस कसैको बपौती र बिर्ता हैन ।
२. बुवा-आमाको विरासतमा धक्कु नलगा । खुदको पहिचान, सामर्थ्य र क्षमताको आधारमा अगाडि आईज ।
३. पी. एच. डी र विद्वताको कसीमा नेपाली काँग्रेसका साधारण कार्यकर्ताहरूलाई कम आकलन नगर ।
४. नेतामुखी राजनीतिको अन्त्य गरी कार्यकर्ता र जनतामुखी राजनीति गर ।
५. सेवामुखी राजनीति गर; पेसामुखी र व्यापारमुखी हैन ।
६. कार्यकर्ताको मनोबल उठाउने र ग्रामीण मुखी कार्यक्रम तर्जुमा गर ।
७. चाकडी, चुग्ली र चाप्लुसी (चाचुचा) राजनीतिको अन्त्य गर ।
८. जनभावना र जनमतको कदर गर्दै जनहितका भावी योजनाहरू बना ।
९. अपवित्र पार्टी गठबन्धन नगर र जथाभाबी सरकारी र गैर -सरकारी विषयमा हस्तक्षेप नगर ।

* नेपाली काँग्रेसको भविष्य अति उज्ज्वल र नेतृत्वदायी छ तर महासमिति र महाधिवेशनको बैठकबाट सँच्चिएर आउनु पर्छ । विगतका गलत क़दमहरुका लागि आत्मालोचना गर्दै जनता सामु नयाँ कार्यक्रम लिएर जानु पर्छ । कार्यकर्ताको मनोबल उकास्नु पर्छ ।

केवल विपक्षी पार्टी हरूको कमजोरी मात्रै नदेखाई संसद्मा बलियो, प्रभावकारी र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्दै, जनता र मतदाताको आशा, आकाङ्क्षा र चाहना लाई मुखरित गर्दै बी. पी को परि कल्पित राष्ट्रनिर्माणको महाअभियानलाई नबिर्सिने हो भने काँग्रेसले नेपालको कायापलट गर्न सक्ने छ ।

• अन्त्यमा, बी. पी, गणेशमान, किसुनजी, महेन्द्र नारायण निधि र सुशील कोइराला कसैका व्यक्तिगत बुवा, दाज्यू, मामा र फुपाजु हैनन् । नेपाली काँग्रेसका निधि र सर्वमान्य सबैका बुवा हुन । उनीहरूको नाम बेचेर पार्टी चलाउने कसैलाई हक छैन । उनीहरू प्रातः: स्मरणीय, पूजनीय र स्तुत्य हुन ।

जय नेपाल ।

 

(प्रा.डा. दुर्गा दाहाल नेपाली काँग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक र नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व उपाध्यक्ष हुन )