अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

केरुङ-काठमाडौँ रेलमार्ग स्थलगत अध्ययन गर्दै चिनियाँ टोली

बिआरटीनेपाल २०७५ मंसिर २६ गते १९:२५ मा प्रकाशित

रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले आज केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ ।

टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताए ।

उक्त टोलीमा विभागका महानिर्देशक कलराम मिश्रलगायतका अधिकारी र चिनियाँ टोलीमा चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङलगायतको सहभागिता थियो ।

संयुक्त टोलीले काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थालगायत विषयमा जानकारी लिएको छ ।

यस्तै चिनियाँ प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरी रेलमार्ग निर्माणको विषयमा जानकारी गराएको थियो । नेपाली र चिनियाँ टोलीले बुधबार काठमाडौँ–पोखरा रेलमार्ग रहने स्थानको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । यस रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । यस रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ ।
अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू