अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

बाध्यता एक कालखण्डको

रवि मान सिंह बस्नेत, पूर्व सेनानी, नेपाली सेना २०७५ मंसिर २६ गते १५:२० मा प्रकाशित

कति छिटो डेढ दशक भएछ ..! नेपालमा सङ्कटकाल लागेको अवस्थामा, नेपाली सेना, तत्काल आतङ्ककारी घोषित, माओवादीहरू विरुद्ध परिचालन भएको बेला हाम्रो पल्टन रोल्पा जिल्लामा तैनाथ थियो । सात वर्षदेखि अनवरत रूपले त्यस बटालियनमा कार्यरत, अधिकांश व्यक्तिहरूलाई व्यक्तिगत रूपमा चिन्ने र दर्जाले क्याप्टेन, मेरो जिम्मेवारी थियो ‘ऐटन’ को ।सैनिक युनिटमा प्रशासनिक र मानव व्यवस्थापन अर्थात् म्यान म्यानेजमेन्ट कार्य हेर्ने अधिकृतलाई नेपाली सेनामा ‘कार्याधिकृत’ भने पनि यसको अङ्ग्रेजी शब्द ‘एड्जुटेन्ट’ अपभ्रंश भएर पल्टनतिर ‘ऐटन’ भनिन्थ्यो, म पल्टनको ‘ऐटनसाप’ ।

उदाहरणीय नेतृत्व र व्यवस्थापन क्षमतावाला हाम्रो बटालियन कमान्डर कर्साब पल्टनलाई तालिम गराउने र लडाउने मात्र होइन लड्न पनि आफैँ शुरिने खालको हुनुहुन्थ्यो ।पल्टनको मोराल खस्किन नदिन सधैँ सचेत उहाँको नीति कडा तर स्पष्ट थियो । सकल दर्जाले समयमा विदाछुट्टी पाउनै पर्ने, पालोमा तालिम र शान्तिसेनामा पर्नै पर्ने, बेलामा प्रमोसन उठाउनै पर्ने आदि इत्यादि । ती सबै कुरा दुरुस्त मिलाउने जिम्मेवारी ‘ऐटन’ अथवा म बबुरो कप्तानको काँधमा ….. अनि त सक्किगो नि ।

लडाइँ झनझनै चर्कदैं थियो । हताश माओवादीहरू निहत्था जवानहरूलाई पनि छाड्दैनथे ।छुट्टीविदा जाँदा पनि मारिन वा अपहरणमा पर्न सक्ने भएकोले हेलिकप्टर बाहेक कसैलाई गाडी वा पैदल पल्टन छाड्ने आदेश थिएन। हेलिकप्टर आउने कुनै नियमित रुटिन पनि थिएन, आएको बेला हतार हतारमा लामो समय छुट्टी नगएका र गाह्रो साह्रो परेका जतिलाई प्राथमिकता दिएर उडाउने काम मेरो भागमा पर्थ्यो । लडाइँले थाकेका र लामो समय घर जान नपाएका थुप्रै हुन्थे।तैपनि अनुशासित जवानहरू, पाका र समझदार जे.सी.ओ. हरू र जोसिला अधिकृतहरूले भरिएको हाम्रो पुरानो र दरिलो पल्टनको हौसला उच्च थियो । मज्जाले लडिदैं थियो माओवादीहरूसँग उनीहरूकै आधार इलाकामा ।

एड्जुटेन्ट भएता पनि अपरेशनल काममा मलाई कुनै छुट थिएन ।लडाइँ लड्न भनेरै फौजको जिन्दगी रोजेको म पनि अरू अधिकृत सरह विभिन्न मिसनमा भोलुन्टियर गरेर समेत जान्थेँ । रातभर माडिचौरमा एम्बुस थापेर फर्केको एक बिहान आफ्नै बङ्कर अगाडी मुख धुँदै थिएँ, सुन्निएको आँखा टिलपिल पार्दै हबलदार मेजर अघि लाएर ‘ए’ कम्पनीको सिपाही आईतराम टुप्लुक्क आई पुग्यो। हिजो राति मसँगै एम्बुस गएर फर्केको सिपाहीको त्यस्तो हालत देखेपछि “के भो हँ आईते?” भनेर सोध्नै नपाई “बर्बाद भो ऐटनसाप……” भन्दै हिक्का छाडेर रुन पो लाग्यो पल्टनकै सबैभन्दा सोझो तर जोसिलो मध्येको सिपाही त ।

धेरैसम्म नभेटेका टाढाका घरपरिवार, नातागोता र मायालुहरूसँग हाम्रो एक मात्र सम्पर्क सूत्र थियो – पल्टनको एकलाईन टेलिफोन।एकजनाले ‘हेलो’ भन्न नपाउँदै अर्कोले ठेल्न आउने गरी भीड लाग्थ्यो त्यो फोनमा। रेडियोमा कतै कोही सैनिक हताहत भएको खबर सुन्यो कि आफ्नालाई म आफू परेको होइन भन्न मासुको रुटिन परेको दिन भान्सामा भन्दा लामो लाइन लाग्थ्यो टोलीको, त्यो फोनमा पालो पाउन। सधैँ व्यस्त रहने पल्टनको फोनमा अन्तबाट कल लाग्नु चिट्ठा परेजस्तै हुन्थ्यो तर त्यो बिहान झ्याप्पै लागेको एउटा कलले रातभरको अनिदो सिपाही आईतरामका लागि नराम्रो सञ्चार ल्याएछ। उसको बुढो बाबु बितेछन् अनि एक्लो छोरो उसलाई काजक्रियाका लागि तुरुन्त घर आउनु भनेर साढे तीन घण्टाको बाटो हिँडेर जिल्ला सदरमुकाम पुगेको काकाको छोराले फोन गरेको रहेछ।

आठ सयको हाराहारी सङ्ख्याको फौजको म्यान म्यानेजमेन्टमा थरथरीको समस्या पर्ने गर्छ र सम्बन्धित अधिकृतले समस्या अनुसार विभिन्न भूमिका निभाउनुपर्छ ।रुँदै गरेको आईतरामलाई पाको अभिभावक सरह सम्झाई बुझाई गर्दै सिधै अपरेसन रुममा गएर ब्रिगेड हेडक्वार्टरमा सम्पर्क गरेँ हेलिकप्टर मिल्छ कि भनेर । तर सबै हेलिकप्टरहरु पूर्वतिर व्यस्त रहेछन् माओवादीहरूसँग घमासान परेकोले ।मानवीय आधारमा प्राथमिकता दिन मैले दोहोराएर गरेको अनुरोधमा “दुई दिन टाइम देऊ भाइ, म सक्दो कोसिस गर्छु, ओभर एन्ड आउट ।”, खरिपाटी एकेडेमीमा क्याडेट हुँदाका मेरो कडा इन्सट्रक्टर र हाल ब्रिगेड अपरेसन अफिसर मेजरसाबको जवाफ आयो रेडियो सेटमा ।

दुई दिन भयो तर हेलिकप्टर आएन।रुँदारुँदै सिपाही आइतरामको बेहाल थियो । पैदल हिँडेरै घर जान्छु भनेर जिद्दी पनि गर्दै थियो तर पितृवियोगमा विरक्त उसलाई म जोखिममा पार्न चाहन्नथें । फौजमा इमानदारीको ठुलो महत्त्व हुन्छ तर मातहतमा रहेको व्यक्तिको भलाइका लागि कहिलेकाहीँ बेइमानी नै त नभनौं तर अलिकति चलाखी पनि गर्नुपर्छ। मैलेपनि त्यसै गर्ने कोसिस गरेँ आईतरामलाई बाबुको किरियाका लागि घर पठाउन। हतार हतार एउटा अति जरुरी मिसन प्लान गरियो फौज हेलिड्रप गर्नुपर्ने गरी । त्यसकै लागि आउने हेलिकप्टरमा सिपाही आइतरामलाई घर उडाउने मेरो योजना थियो । तर पूर्वतिरको ठुलो अपरेसन अझ लम्बिने भएकोले हाम्रो मिसन स्थगित गर्नु भन्ने आदेश पो आयो ।

अब तेह्र दिनभित्र बाबुको काज किरिया सक्ने गरी सिपाही आईतरामलाई घर पठाउन सम्भव रहेन।पल्टन मै काज किरिया गर्नु बाहेक अरू विकल्प पनि थिएन । बटालियन हेडक्वार्टर भन्दा केही तल एकान्त ठाउँमा रहेको दूरसञ्चार संस्थानको कम्युनिकेशन टावर रहेको घरमा हाम्रो सुरक्षा पोस्ट थियो । ‘ट्याङ्गो’ पोस्टको त्यही चोखो ठाउँमा आईतरामलाई किरिया राख्ने र पल्टन कै पण्डित मार्फत सबै विधि पुराउने आइडिया निक्ल्यो, अनुभवी सुवेदार मेजरले राम्रो सँग तजबिज गर्नुभयो। बटालियन कमान्डरको स्वीकृति पछि सिपाही आईतरामले पहिलो पटक बाबुको किरिया सम्पन्न गरेको त्यो ठाउँ बिस्तारै किरिया पुत्री घरमा परिणत भयो । उसको जस्तै पीडाजनक अवस्था र परिस्थितिमा थुप्रै जवानहरू त्यहाँ आमाबाबुको किरिया बसे ।

अझै पनि आकाशमा हेलिकप्टर उडेको देख्दा, कहिंकतै कम्युनिकेशन टावर देख्दा सिपाही आईतराम सम्झिन्छु, उ र बाबु आमा प्रतिको अन्तिम दायित्व पूरा गर्न घर जान नपाई पल्टनमै किरिया सकेका जवानहरू र परिस्थिति झलझली सम्झिन्छु । अझै बेलाबेलामा उनीहरूलाई घर पठाउन नसक्दा आफूले महसुस गरेको पीडा बल्झिएर आउँछ । कतिले लडदा लड्दै ज्यान गुमाए, कति बाँचे तर अपाङ्ग भए र थुप्रैले सिपाही आईतरामले जस्तै र उनीहरूको कमान्डरको नाताले मैले जस्तै परिस्थिति भोगे – त्यो बाध्यता थियो हामीले भोगेको एक कालखण्डको । …र त्यो कालखण्ड उपज थियो खोइ केका लागि हो सुरु भएर परारै.. अन्त समेत भइसकेको एउटा युद्धको । क्रमशः

प्रतिक्रिया