अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

भारतीय विधानसभा निर्वाचनमा भाजपालाई नराम्रो धक्का

बिआरटीनेपाल २०७५ मंसिर २६ गते ८:३७ मा प्रकाशित

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ । राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको हो ।

पाँच मध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । ती तीनै राज्यमा उसले हार बेहोरेको छ । मध्यप्रदेश र छत्तीसगढको परिणामलाई भने भाजपाका लागि ठूलो झड्का ठानिएको छ । मध्यप्रदेशमा पाँच वर्षअघि भएको निर्वाचनमा २३० मध्ये १६५ सिट जितेको भाजपा यस पटक १ सय ९ सिटमा खुम्चिएको छ ।

त्यसैगरी छत्तीसगढमा १५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएको भाजपा यस पटक पराजित भएको छ । यो प्रदेशमा कूल ९० सिटको प्रदेशसभामा भारतीय कंग्रेस पार्टीले ६८ सिटसहित बहुमत हासिल गरेको छ । सत्ताधारी दल भाजपा १६ सिटमै सिमित भएको छ । पाँच वर्षअघि भएको निर्वाचनमा यहाँ भाजपाले ४९ सिट जितेको थियो ।

राजस्थानमा २०० सिटमा भएका चुनावमा कंग्रेसले ९९ सिटमा जित हात पारेको छ भने भाजपा ७३ सिटमा सिमित भएको छ । त्यसैगरी दक्षिणी भारतीय राज्य तेलंगानामा भने सत्ताधारी दल टीआरएसले भारी बहुमत हासिल गरेको छ । कूल ११९ विधानसभा सिटमध्ये मुख्यमन्त्री केसीआर राव नेतृत्वको टीआरए गठबन्धनले ८८ सिटमा विजयी भएको छ । कंग्रेस र तेलगुदेशम् पार्टी गठबन्धनले १९ सिट जितेको छ । अघिल्लो निर्वाचनमा पाँच सिट जितेको भाजपा यस पटक एक सिटमा सिमित भएको छ ।

राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा ऐतिहासिक जित हात पारेको कंग्रेसले मिजोरममा भने नमीठो हार बेहोरेको छ । ४० सिटको मिजोरम विधानसभामा कंग्रेस ५ सिटमा सिमित भएको छ । त्याँ मिजोरम नेसनल फ्रन्टले २६ सिटसहित बहुमत हासिल गरेको छ । भारतीय जनता पार्टीको हारका पछाडि केन्द्रीय सरकारले पछिल्लो साढे चार वर्षमा लिएका नीति र प्रदेश सरकार सञ्चालनमा रहेका कमीकमजोरी प्रमुख रुपमा जिम्मेवार ठानिएको छ । त्यस्तै भाजपाले चुनावताका दिएको धार्मिक अतिवादको नाराविरुद्धको अभिमतसमेत रहेको कतिपयको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू