अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

पोखरामा ईक्यान एजुकेशन फेयर शुरु

बिआरटीनेपाल २०७५ मंसिर २६ गते ८:३१ मा प्रकाशित

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि बुधबारदेखि पोखरामा इक्यान एजुकेसन फेयर शुरु भएको छ । स्थानिय सभागृह हलमा छ्रैठौं संस्करणको एजुकेसन फेयर शुरु भएको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीद्वारा आयोजित तिन दिने शैक्षिक मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले परामर्श र शैक्षिक क्षेत्रसँग सम्बन्धित गतिविधि हुने मेलाले विशेष अर्थ राख्ने बताउनुभयो ।

नीजि परामर्श दातृ संस्थाहरुको छाता संगठन इक्यान कास्कीले शैक्षिक गतिविधिलाई बढाउन गरेको अभ्यास सुखद् रहेको उल्लेख गर्नुभयो । हरेक पेसा र व्यवसायको व्यावसायिक मर्यादा कायम राख्नुपर्ने भन्दै प्रमुख कुँवरले सरकारको नीति नियमलाई आत्मसात् गरी शैक्षिक विकासमा लाग्न परामर्श दाताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्श संस्थाहरुलाई एउटै मापदण्डमा डो¥याउन निम्ति राज्यले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो । शुभारम्भ समारोहमा इक्यान केन्द्रीय महासचिव, ब्रिटिस काउन्सिलका प्रतिनिधि, मेलालाई सहयोग गरेका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले आफ्नो भनाई राखेका थिए ।

गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेलाको रुपमा स्थापित भएको मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिनुभयो ।

मेलामा ६५ स्टल तथा पेभेलियनहरुबाट विद्यार्थीहरुलाई शैक्षिक परामर्श एवं करियर काउन्सिल सेवा प्रदान गरिने इक्यान कास्कीका महासचिव रुद्रप्रसाद अर्यालले जानकारी दिनुभयो । मेला २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू