अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा

बिआरटीनेपाल २०७५ मंसिर २६ गते ८:२९ मा प्रकाशित

ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउनुभएको छ । भारतको अयोध्याबाट उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती लिएर जनकपुर आउनुभएको हो ।
उहाँ विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर जनकपुर आउनुभएको थियो । मुख्यमन्त्री आदित्यनाथलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतसहितले स्वागत गर्नुभयो ।

बुधबार बिहान जनकपुर आईपुग्नुभएका योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा अर्चना समेत गर्नुभएको छ । पुजा पश्चात उहाँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवा भोजमा समेत सामेल हुनुभएको थियो । मुख्यमन्त्री आदित्यनाथको सुरक्षालाई मध्यनजर गर्दै जनकपुर आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

सुरक्षा प्रयोजनका लागि भारतबाट बुलेटप्रुफ गाडी सहित विशेष सुरक्षा टोली सहित नेपाली सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । अत्याधिक भिडभाड हुने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामेराको प्रयोग गरिएको बताईएको छ । दिवाभोज समापनपछि मुख्यमन्त्री आदित्यनाथ रंगभूमि मैदानमा आयोजित सीतारामको विवाहको स्वयंवरमा सहभागी हुनुभएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सिताबीच विवाह भएको स्मरणमा जनकपुरमा विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव गएको मंसिर २१ गतेबाट सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू