अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

आदिवासी जनजाति महासंघद्वारा साताव्यापी आन्दोलनको घोषणा

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:२५ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

आफूहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको विदा कटौती खारेज गर्न माग गर्दै दवाव आन्दोलन सुरु गर्नुपरेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिनुभयो । महासंघले आदिवासी जनजातिहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दवाव दिँदै आईरहेको छ ।

महासंघले सो विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । कार्यक्रम अनुसार मंसिर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दूतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने रहेका छन् ।

त्यसैगरी महासंघले पुस १ गते नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफ्नो माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाउनेछ । पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुस ३ गते प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष बरामले जानकारी दिनुभयो ।

महासंघले पुस ४ गते सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशको मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएर पनि आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दिवाव दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू