अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

संवैधानिक परिषदको बैठक पुस ५ गते सम्मका लागि स्थगित

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:२३ मा प्रकाशित

नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको बैठक पुस ५ गते सम्मका लागि स्थगित भएको छ । बिहानका लागि बोलाइएको बैठक नेताहरुको कार्य व्यस्तताको कारण देखाउँदै साँझका लागि सारिएको थियो । साँझको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलक नेपाली कांग्रेसका सभापति शेर बहादुर अनुपस्थित भएपछि पुस ५ गते सम्मका लागि सारिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका शिक्षण अस्पताल जानु भएको तथा कांग्रेस सभापति देउवा कार्यव्यस्ततका कारण अनुपस्थित भएपछि बैठक सारिएको हो । परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने प्रावधान छ । संवैधानिक परिषदको बैठक दोस्रो पटक स्थगित भएको हो । यसअघि गत मंसिर १७ गते बसेको बैठक निष्कर्षमा नपुगी स्थगित भएको थियो । परिषद बैठक निष्कर्षमा पुग्न नसक्दा प्रधानन्यायधीश सिफारिस हुन सकेको छैन ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको थियो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाँडै बाहिरिएपछि गत १७ गते बसेको परिषद बैठक निष्कर्षमा पुग्न सकेको थिएन । सो बैठकमा नयाँ ८ वटा संवैधानिक आयोग गठन गर्ने विषयमा सामान्य छलफल भएको थियो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अस्वीकृत भएपछि मिश्र प्रधानन्यायाधीश हुनुभएको हो । सुनुवाई समितिले पूर्ववत निर्णय कायम राखे राणा प्रधानन्यायाधीशका लागि एक्लो उम्मेदवार हुनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू