अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

ओली र प्रचण्डबीच सहमतिः राजदूत लक्की शेर्पा बर्खास्तीमा पर्ने निश्चित

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:५३ मा प्रकाशित

मानव तस्करीको गम्भीर आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अन्ततः बर्खास्तीमा पर्ने निश्चित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शेर्पालाई बर्खास्त गर्ने सहमति भइसकेको छ । आफ्नै चालक सोलुखुम्बुका वाङछु शेर्पाले लक्कीमाथि मानव तस्करी आरोप लगाएपछि विवादमा तानिएपछि उनलाई परराष्ट्र मन्त्रालयले केही दिनअघि स्पष्टीकरणका लागि काठमाण्डु बोलाएको थियो ।

शेर्पामाथि लागेको अभियोगबारे छानबिन गर्न मन्त्रालयले छानबिन समिति बनाएको छ । समितिलाई बयान दिनुअघि शेर्पासँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागीले सोधपुछ गर्नुभएको छ । स्रोतका अनुसार लक्कीले दिएको जवाफ मन्त्री र सचिवलाई चित्त बुझेको छैन् ।

पार्टीकै सिफारिसमा राजदूत भएकी शेर्पाले कूटनीतिक मर्यादाविपरीत मुलुकको अन्तर्राष्ट्रिय छविमै आँच आउने गतिविधि गरेको भन्दै प्रधानमन्त्री ओली र प्रचण्डले प्रक्रिया पुर्याएर हटाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई निर्देशन दिइसकेको बुझिएको छ । बालुवाटार उच्च श्रोतका अनुसार अबको एकरदुई दिनभित्रै शेर्पालाई बर्खास्त गर्ने तयारी भएको छ ।

लक्कीले चालकका रुपमा आफूसँगै अष्ट्रेलिया लग्नुभएका वाङछु शेर्पाले दुईपटक गरी ३० लाख रुपैयाँ दिएको र उता गएपछि पनि चार वर्षसम्म महिनाको हजार डलर बुझाउने लिखित सहमति गरेको दाबी गरेका छन् । सहमतिअनुसार रकम बुझाउँदै आएको भए पनि वाङछुकी श्रीमती काठमाण्डुमा मानव तस्करी आरोपमा पक्राउ परेपछि उनले घटना बाहिर ल्याएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू