अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन सम्बोधन गर्ने

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:४८ मा प्रकाशित

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रदर्शनकारीलाई संयमता अपनाउन बारम्बार आग्रह गर्दै आउनुभएका राष्ट्रपति म्याक्रोनले प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

उहाँले वर्तमान संकट समाधानको प्रस्ताव घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । यसैबीच फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेले देशमा भइरहेको महंगीविरुद्धको प्रदर्शनले अर्थतन्त्रलाई कमजोर बनाएको बताउनुभएको छ । उहाँले अहिलेको आन्दोलनले फ्रान्सेली समाज र लोकतन्त्रका लागि नै संकट सिर्जना गरेको उल्लेख गर्नुभयो । फ्रान्समा जारी आन्दोलनको सबैभन्दा बढी असर पेरिसमा परेको छ ।

दशौं हजार प्रदर्शनकारीहरु सडकमा उत्रिएर सार्वजनिक सम्पत्ति र सवारी साधनमा तोडफोड गरेका छन् । कतिपय व्यक्तिका गाडिमा आगजनी भएका छन् भने पसलहरुमा लुटपाटसमेत हुन थालेको छ । चार सातादेखि चर्केको आन्दोलनले फ्रान्समा निकै ठूलो क्षति भएको छ । प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच झडपसमेत भएको छ ।

पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले प्रदर्शनको शुरुमा मूल्यबृद्धि समायोजनको माग गरेको भए पनि अहिले राष्ट्रपतिको राजीनामा नै माग गरेका छन् । प्रदर्शनकारीहरुले पेन्सन, शिक्षा, आप्रावासन कटौती, कृषिक्षेत्रमा सुधारको मागसमेत गरेका छन् । यसैबीच फ्रान्स सरकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्रान्सको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने फ्रान्समा आन्दोलन चर्कदै गएपछि प्रदर्शनकारीका माग सम्बोधन गर्न फ्रान्स सरकारलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू