अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

निर्मला प्रकरणमा आईजीपीको जवाफ – कसैलाई फसाउन खोजेको भए मेरो बर्दी खोलिदिनुस्

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:४५ मा प्रकाशित

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कसैलाई फसाएर अन्य कसैलाई जोगाउन नखोजेको दाबी गर्नुभएको छ । सोमबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रहरी खनालले निर्मला पन्तको हत्यारा पत्ता नलागेको चिन्ताले आफूलाई निन्द्रा समेत नलाग्ने अवस्था आएको बताउनुभयो ।

अनुसन्धान भइरहेको घटनामा विभिन्न तवरबाट अनुसन्धान प्रभावित गर्न खोजिएकोबारे चिन्ता ब्यक्त गर्दै खनालले त्यसरी अनुसन्धान प्रभावित गर्न नखोजेर सबैले सहयोग गरेमा चाँडै परिणाम दिने बताउनुभयो । सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसद रमेशजंग रायमाझीले प्रहरी प्रमुखले जे भन्यो त्यही मान्ने केन्द्रीय अनुसन्धान ब्यूरोले ‘खनालकै योजनामा नक्कली अभियुक्त खडा गर्न खोजेको हुनसक्ने’ आरोप लगाउनुभएको थियो ।

सांसद रायमाझीको आरोप खण्डन गर्दै आईजीपी खनालले व्यवसायिकताबाट आफू कहिल्यै तलमाथि नगर्ने र त्यस्तो हुन पनि नदिने दाबी गर्नुभयो । सांसदहरुले कुखुरा चोरीमा पक्राउ परेका नक्कली अभियुक्तलाई फसाउन खोजेकोबारे राखेको जिज्ञासामा खनालले आफू र आफ्नो संगठनलाई विश्वास गर्न आग्रह गर्नुभयो ।

समितिको बैठकमा प्रहरी प्रमुखलाई अधिकांश सांसदहरुले कसको दवावमा निर्मलाको हत्यारा पत्ता लगाउन आनाकानी गरिएको भन्दै प्रश्न उठाएका छन् । सांसद महेश कुमार महराले सिंगो राज्य संयन्त्रलाई प्रभावित पार्न खोज्ने शक्ति को हो भन्दै प्रश्न गर्नुभयो । सांसद प्रमिलादेवी यादवले निर्मलाको हत्या गरेको नाममा नक्कली अभियुक्त पक्राउ गरेर यातान दिने काम बन्द गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू