अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी अध्ययन प्रतिवेदन तयार, चीनद्वारा नेपाल सरकारलाई हस्तान्तरण

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:४३ मा प्रकाशित

चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे को–अपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो । भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेशनल रेल्वे अथोरिटी चीनका उपप्रशासक आन लुसुङ नेतृत्वको सो कमिटीको बैठकमा चिनियाँ पक्षले नेपाललाई केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धि प्रतिवेदन बुझाएको छ ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धि चीनले आफूले तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिनुभयो । बैठकमा दुवै पक्षबीच सो प्रतिवेदनमा आधारित भएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल गरिएको छ ।

बैठकले काठमाडौं–पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण चिनियाँ पक्षले गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आन नेतृत्वको चिनियाँ उच्चस्तरीय टोली मंगलबार रसुवा र बुधबार पोखरा जाने कार्यक्रम पनि तय भएको सचिव अधिकारीले जानकारी दिनुभयो ।

१ सय ७१ किलोमिटर लामो प्रस्तावित काठमाडौं–पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ । नौ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको सो रेलमार्ग निर्माणका लागि २ खरव ५७ अरव बजेट लाग्ने अनुमान गरिएको छ ।

यता, केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ढिलाई नगर्न पनि दुवै पक्ष सहमत भएका छन । चीनमा आयोजना हुने सो कमिटीको आगामी बैठकले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि सो रेलमार्ग निर्माणको तयारीको कामले गति लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू