अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित, भोलीको बैठकमा राजनीतिक प्रतिवेदन पेश हुने

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:४२ मा प्रकाशित

नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन पारित भएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले पेश गरेको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले दिएको सुझावलाई समेत समेटेर सो प्रतिवेदन परिमार्जनसहित पारित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

कांग्रेसले पारित गरेको सो आर्थिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारले लिएको आर्थिक नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दावी गरिएको छ । त्यसैगरी प्रतिवेदनमा उत्पादनमा जोड दिएर गरिव जनताको पक्षमा आर्थिक पहुँचको विकास गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारको निषेध र नियन्त्रणमुखि अर्थनीतिका कारण मुलुकमा वैदेशिक लगानी गत वर्ष भन्दा ७५ प्रतिशत घटेको तथा आन्तरिक लगानीपनि पलायन हुने क्रम बढेको काँग्रेसको निष्कर्ष छ । आगामी मंसीर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु पारित गर्न काँग्रेस केन्द्रिय कार्य समिति बैठक जारी छ । भोलि(मंगलबार) बस्ने केन्द्रिय कार्य समिति बैठकमा भने राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछ । सो प्रतिवेदनमाथि भोली नै छलफल गरेर टुंगो लगाउने कार्यसूचि पनि तय गरिएको पार्टीका प्रवक्ता शर्माले बताउनु भयो । यस अघि पेश गरिएको विधान संशोधन मस्यौदा प्रतिवेदनमाथि काँग्रेस केन्द्रिय कार्य समितिमा छलफल भईसकेको छ । सो प्रतिवेदनलाई केन्द्रिय सदस्यहरुले दिएको सुझावको आधारमा अन्तिम रुप दिने काम भईरहेको पनि काँग्रेसले जनाएको छ । काँग्रेसले महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पनि पेश गर्नेछ । सो प्रतिवेदन पनि छिट्टै केन्द्रिय कार्य समिति बैठकमा पेश हुने प्रवक्ता शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू