अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

सुन्ने सुनाउने दसौँ भाग सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर २४ गते १२:२४ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले आज आफ्नो दसौँ भाग सम्पन्न गरेको छ । साहित्य र सङ्गीत जोड्ने अभियानमा संलग्न सुन्ने र सुनाउने कार्यक्रमको यस स्रिंखलाको सञ्चालन श्रीराम लुइटेलले प्रभावकारी ढङ्गले गर्नु भएको थियो।

सर्जकहरूको बाहुल्यतामा सम्पन्न उक्त कार्यक्रमको सभा नायकको भूमिका श्री पारस लम्सालले निर्वाह गर्नु भएको थियो । कार्यक्रममा गीत तथा कविताको मीठो सङ्गम रहेको थियो जसमा गायक श्री वसन्त लम्सालले स्वर सम्राट् नारायण गोपालको २९ औँ पुण्य तिथिको स्मरणमा “यो मुटुलाई कसरी” बोलको गीतबाट स्वर सम्राट् प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको साथै आफ्ना सहपाठी कवि श्री रमेश क्षितिजको “ परेलीको बर्षातले छाती भित्र पैरो गयो” भन्ने बोलको गीतले सबैको मन जित्नु भएको थियो भने श्री गौतम सागर राईले भर्खरै मात्र प्रकाशनमा आएको आफ्नो पूर्वेली लोक गीत सुरिलो स्वरमा गाउनु भएको थियो। 

आजको कार्यक्रम प्रतिष्ठानको यो वर्षको अन्तिम कार्यक्रम भएको हुनाले श्रीमती धन पौड्यालले प्रतिष्ठानको तर्फबाट अहिले सम्म भएको गतिविधि माथि प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित सबैले आफ्नो रचना बाँच्न गरेका थिए । सरोज भुसाल ,बिभीषिका अधिकारी ,ज्ञानेन्द्र काफ्ले, कृष्ण कुमार घिमिरे, सिता सापकोटा तिवारी ,सेनु प्रसाद तिवारी, भूपेन्द्र महत ,पारस लम्साल ,बुद्धिप्रसाद लामिछाने ,धन पौड्याल र लाल प्रसाद चौलागाइँले आफ्नो रचना बाँच्न गर्नु भएको थियो भने महेश भट्टराईले प्राविधिक कारणले आफ्नो गलालाई प्रस्तुत गर्न नसके पनि कार्यक्रममा सक्रिय सहभागी हुनुको साथै आगामी कार्यक्रममा आफ्नो गायनको लागि साझा मञ्चमा सहभागी हुने बताउनु भएको थियो। 

नेपाली भाषा र साहित्य सँगै सङ्गीतलाई जोड्ने यो कार्यक्रम प्रत्येक महिनाको दाेश्रो आइतबार आयोजना हुँदै आइरहेको छ । साथै उक्त कार्यक्रमलाई बिआरटी नेपालले प्रत्यक्ष प्रसारण गर्दै आइरहेको छ ।

प्रतिक्रिया