अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

पुष्कर बराल २०७५ मंसिर २३ गते २१:०८ मा प्रकाशित

न्यु योर्क, नेपाली अमेरिकन कलाकार सङ्घले डिसेम्बर ८ मा पहिलो पटक नेपालका महान् स्रष्टा तथा सर्जकहरूको सम्मानका लागि विशेष साङ्गीतिक कार्यक्रम भव्य रूपमा आयोजना गरेको छ ।

अमेरिकामै पहिलो पटक न्यु योर्क स्थित शेर्पा किदुगको हलमा विशेष साङ्गीतिक साँझ कार्यक्रमको आयोजना गरिएको छ । साङ्गीतिक कार्यक्रम नेपाली स्थानीय कलाकारहरूले पुराना कलाकारहरूको सम्झनामा उनीहरूकै गीत गाएर कार्यक्रम भव्य र सभ्य बनाएका छन् । 

गीत सङ्गीत प्रेमी जो कोही नेपालीहरूको मन मुटुमा बस्न सफल उनै हाम्रा पुराना महान् स्रष्टा तथा सर्जकको सिर्जनाले आज पनि नेपाली गीत सङ्गीत बजार धनी छ । त्यस्ता स्रटाहरुको गीतहरूलाई प्रवासी भूमिमा पनि यसरी नेपाली समुदायमा आजका कलाकारले गाउने र उहाहरुको सम्मानमा कार्यक्रम गर्नाले हाम्रा पुर्खाको देनलाई ठुलो सम्मान गर्न सकेको अमेरिकन कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगरले बताएका छन् ।

यसपालिको पहिलो भागमा निम्न स्रष्टाका अजम्बरी गीत प्रस्तुत गरिएका छन् । तथापि अन्य सम्पूर्ण स्रष्टाहरूको सम्झना र सम्मानको क्रम आगामी दिनमा निरन्तर गर्ने कलाकार सङ्घले जनाएको छ ।

सेतुराम, मेलवादेवी, मित्र सेन, शिवशङ्कर ,धर्मराज थापा, अम्बर गुरुङ, नातिकाजी, फत्तेमान, नारायण गोपाल, पन्नाकाजी, गोपाल योञ्जन, तारादेवी, झलकमान, अरुणा लामा, कल्याण शेरचन, अरुण थापा, राम थापा, लोक बहादुर क्षेत्री, प्रवीण गुरुड० आदि “कालजयी स्रष्टाहरूको सम्झना तथा सम्मान वरिष्ठ सङ्गीतकर्मीहरूको प्रत्यक्ष वाद्यवादनमा ऊनै कालजयी गीतहरूको प्रत्यक्ष गायन” गायक/गायीकाहरु सपना श्री, जगदीश समाल, विमल डाँगी, रोशन गुरुड०,भगवान् भण्डारी, तिलक बम मल्ल, सुमन बुढामगर, लक्ष्मण पौडेल, सरिता डाँगी, राजु ढुङ्गेल, रेश्मा सुनार, निशा सुनार, अभय ढुङ्गेल, तुलसीराम न्यौपाने, लगायतका कलाकार हरूबाट प्रस्तुत गरिएको छ ।

नेपाली अमेरिकन कलाकार सङ्घका महासचिव गायक विमल डाँगीले भनेका छन् “नेपाली सङ्गीतको इतिहास उहाँहरूबाट सुरुवात भयो र त बर्तमानमा हामी नेपाली सङ्गीतमा रमाई रहेका छौँ,उहाँहरूलाई स्मरण गर्नु अनि ऊनै सृजनाहरूलाई संगीतपारखीमाझ पुर्‍याउनु हाम्रो जिम्मेवारी पनि हो । उहाँहरू जस्तै अग्रजहरूले बनाएको बाटो पछ्याईरहेका हामीले हाम्रा अग्रजलाई सम्झना गर्न सके भावी पुस्ताले पनि सोही गर्नेछन् “ ।

कार्यक्रमको समापनमा कलाकार सङ्घले यस्तो एैतिहासिक कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण कलाकार र कला प्रेमीहरूमा विशेष धन्यवाद दिएको छ । साथै कलाकार सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको लाइफ टाइम अच्युभमेन्ट पुरस्कार यो वर्ष शिशिर श्रेष्ठ र गोमा योञ्जनलाई प्रदान गरेको छ ।