अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै सेयर लगानीकर्ताहरु अनसनमा

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:२७ मा प्रकाशित

सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् ।

तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिनुभयो । सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको समेत राजीनामा माग गरेका हुन् ।
नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरुको भनाई छ । समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई सचेत गराएका छन् । यसअघि सेयर लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ । समूहले अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पु¥याउनुपर्ने लगायतका १० बँुदे माग राख्दै अनसन सुरु गरेको हो । समूहले सेयर बजारलाई सहज बनाउने अभियानमा साथ दिन देशभरका सेयर लगानीकर्ताहरुलाई सचेत रहन आह्वान पनि गरेको छ ।

प्रतिक्रिया