अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

काठमाडौं–जनकपुर साइकल यात्रा सुरू

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:२६ मा प्रकाशित

ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साइकल यात्रा सुरू गरिएको छ । हिन्दु धर्मको पवित्र तीर्थस्थल काठमाडौंको पशुपतिनाथबाट ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै सो साइकल यात्रा शुभारम्भ गरिएको हो ।

आइतबार बिहान पशुपतिनाथ परिसरमा एक कार्यक्रमका बीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा र रुद्राक्षको माला साइकल यात्रीलाई लगाइदिएर सो साइकल यात्राको शुभारम्भ गर्नुभयो । ८५ जना साइकल यात्री सहभागी रहेको सो साइकल यात्रा वीर पुर्खाहरूले तत्कालीन अंग्रेज शासकलाई हराएको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै धार्मिक नगरी जनकपुरस्थित रामजानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

जनकपुरमा विवाह पञ्चमीको अवसर पारेर सो साइकल यात्रा आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यो साइकल यात्राले पर्यटकीय क्षेत्रको मात्रै नभएर मुलुकको राजनीतिक, आर्थिक तथा देशभक्तिको भाव जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली वीरहरूले देशको रक्षाका लागि देखाएको वीरतापूर्ण संघर्षको पनि सो साइकल यात्राले स्मरण गराएको पनि बताउनुभयो ।

आइतबार पशुपतिनाथबाट सुरू भएको सो साइकल यात्रा ४ दिनमा २ सय २५ किलोमिटर पार गरी जनकपुरस्थित जानकी मन्दिरमा पुगेर समापन हुनेछ । पशुपति क्षेत्र विकास कोषको संयोजनमा आयोजना गरिएको सो साइकल यात्रीलाई कमलामाई नगरपालिका, सुनकोशी नगरपालिका, बर्दिबास नगरपालिकाले पनि आ–आफ्नो क्षेत्रमा पुगेपछि स्वागत गर्ने कार्यक्रम छ । सामाजिक तथा साँस्कृतिक सदभाव कायम गर्न विगत केही वर्षयता काठमाडौं–जनकपुर साइकल यात्रा आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू