अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न बहुसंख्यक केन्द्रीय सदस्यको माग 

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ८:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न बहुसंख्यक केन्द्रीय सदस्यले माग गरेका छन् । पदाधिकारी थप्ने र नथप्ने दुई कित्तामा विभाजित संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पनि पदाधिकारी थप्नु उचित नै हुने तर पदाधिकारी थप्दा समावेशी प्रतिनिधित्वको आधारमा हुनुपर्ने अडानमा छन् ।

गत हप्तादेखि जारी केन्द्रीय समिति बैठकमा विधानमाथि केन्द्रीय सदस्यहरुले स्वतन्त्रपूर्वक आफ्ना धारणा राखीरहेका छन् । पौडेल पक्ष सबै पदाधिकारी थप्नुपर्नेमा भएपनि सभापति देउवा पक्षका माथिल्लो तहका नेताहरु पदाधिकारी थप्ने पक्षमा छैनन् । पदाधिकारी थप्ने पक्षमा रहेकाहरुले पनि समावेशी बनाउनुपर्ने बताइरहेका छन् ।

बैठकमा बोल्ने सदस्यहरुले पार्टीमा एकल संक्रमणीय मतका आधारमा निर्वाचन गर्न पनि सुझाव दिएका छन् । शनिबारको बैठकमा बोल्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र प्रभावकारी बनाउन सभापतिलाई शक्तिशाली बनाउने गरी विधान बनाउन माग गर्नुभयो । उहाँले विधानमा केन्द्रीय समितिमा एकमत बनाएरमात्र महासमितिमा जानुपर्ने धारणा राख्नुभयो ।

बैठकमा कोषाध्यक्ष सीता यादव, केन्द्रीय सदस्य शीला खड्कालगायतले पार्टीलाई बलियो बनाउने र गुटलाई प्रश्रय नदिनेगरी विधान बनाउनुपर्ने बताउनुभएको छ । विधानमाथिको छलफल शनिबारै सक्ने तयारी नेतृत्वले गरेको छ । आइतबारदेखि आर्थिक र राजनीतिक प्रस्तावमाथि छलफल गर्ने तयारी गरिएको छ । केन्द्रीय समितिमा आर्थिक प्रस्ताव पेस भइसकेको छ । राजनीतिक प्रस्ताव तयारी समितिले अन्तिमरुप दिएर केन्द्रीय समितिमा पेस गर्न तयार पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू