अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

सत्तारुढ नेकपाले मंसिर २९ गते बोलायो स्थायी कमिटि बैठक

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ८:०० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटीको बैठक मंसिर २९ गते बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटिको बैठक २९ गते शनिवार बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेलाई बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । पार्टी्भित्र बैठक बोलाउनुपर्ने माग हुँदै आइरहेका बेला स्थायी कमिटिको बैठक बोलाइएको हो ।

४५ सदस्यीय स्थायी कमिटिमा अहिलेसम्म सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गराइने भएको छ । सचिवालय बैठकले प्रदेश कमिटिलाई पूर्णता दिएको थियो । यस्तै, केन्द्रीय सदस्यको कार्य्विभाजन, भातृ संगठनको एकता लगायतका विषय भने अझै टुंगो लाग्न सकेको छैन ।

आजको सचिवालय बैठक मुख्य चार नेताले भने बहिस्कार गरेका थिए । निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल नआएपछि नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गर्नुभएको थियो ।

बैठक आव्हान गरिएको समयमा अध्यक्षद्धय ओली र दाहाल प्रधानमन्त्री निवास बालुवाटारमै क्यान्सरबाट ग्रसित तत्कालिन माओवादी केन्द्रकी पूर्व सभासद् तथा नेकपाकी नेतृ मणी खम्बुसँग छलफल गरिरहनुभएको थियो । बैठक बहिस्कार गरेपछि नेतृत्वबाट कुनै प्रतिक्रिया नआएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू