अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

नेपाल आईडलका विक्रमलाई पोखरामा भव्य स्वागत र सम्मान

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ३:०१ मा प्रकाशित

नेपाल आईडलमा उत्कृष्टठ ४ सम्म पुगेका पोखराका विक्रम बराललाई शनिबार पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ । पोखरा विमानस्थलमा अवतरण गरेका बराललाई पोखराका मेयर मान बहादुर जिसिले अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, विक्रमलाई संगित सिकाएका प्रशिक्षक नवराज बराल, पत्रकार जीवन सुवेदी लगायतले बराललाई स्वागत गर्नुभएको थियो ।

बिमानस्थलको अति विशिष्ट कक्ष विशेषगरी नेता, मन्त्री, र प्रधानमन्त्रीले प्रयोग गर्ने गरेको भएपनि संगितमा उहाँको उचाईका कारण उहाँलाई अति विशिष्ट कक्षबाटै अवतरण गराईएको थियो ।

यसैबीच पोखरा महानगरका मेयर जिसीले बराललाई शुभकामना दिँदै नेपाल आईडल नै भएको हेर्न चाहेको बताउनुभयो । विक्रमको स्वागतका लागि पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा संक्षिप्त प्रतिक्रिया दिँदै मेयर जिसीले पोखरा कला संगितको राजधानी पनि हो भन्ने प्रमाणका लागि विक्रम बराल उदाहरणीय व्यक्ति भएको बताउनुभयो । सो अवसरमा गायक वरालले महानगरले आँफूलाई दिएको सम्मानले आँफू निकै खुसी भएको प्रतिक्रिया दिनुभयो ।

संयोजक एवं संगित प्रशिक्षक नवराज बरालले भोटकै कारण विक्रमले नेपाल आईडल जित्नबाट बञ्चित हुने अवस्था आउन दिन नहुँने बताउनुभयो । त्यस्तै मदरल्याण्ड माविका निर्देशक डा. त्रिभुवन शर्माले नेपाल आईडल विक्रम नै होउन भन्ने कामना सहित सहयोग गरिरहेको बताउनुभयो । स्वागतको क्रममा विक्रमकी आमा निकै भावुक हुँदै आफ्नो छोराको प्रगतिमा सबैजनाले साथ दिएकोमा धन्यवाद दिनुभयो ।

पञ्चै बाजा सहित भेला भएका पोखरेली संगितप्रेमीहरुले बिक्रमको स्वागत सहित नगर परिक्रमा समेत गराएका छन् । अविर माला र खादाले ढाकिएका बरालले सबैलाई हात हल्लाउँदै पोखरा परिक्रमा गरेका छन् । पोखराको एयरपोर्टबाट सुरु भएको बिक्रमको सम्मान र्याली लेकसाईड, हल्लनचोक, जिरो कि मि सृजनाचोक न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल बगर, विन्द्ययवासिनी नालामुख हुँदै पुन मानवअधिकार चोकमा पुगेर समापन भएको थियो । विक्रम उत्कृष्ट चारमा पुगेसंगै उहाँलाई भोट गरेर नेपाल आईडल बनाउन सम्पूर्णलाई विक्रम बराल सहयोग समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया