अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

सार्क विकल्प होइन अनिवार्य आवश्यकता हो –  प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ मंसिर २२ गते २:३५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क विकल्प नभई अनिवार्य आवश्यकता भएको बताउनुभएको छ । सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै दक्षिण एसियामा सार्क अनिवार्य आवश्यकता भएकाले यसलाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्नुपर्ने बताउनुभएको हो । सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अति महत्वपूर्ण भएकोले सदस्य राष्ट्रबीचको असमझदारी एवं तीक्ततालाई अन्त्य गरी मार्ग प्रशस्त गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सार्कको बडापत्रले आर्थिक समृद्धिदेखि सामजिक–सांस्कृतिक विकास, सदस्य राष्ट्रको साझा लाभ र हितजस्ता महत्वपूर्ण उद्देश्यलाई सम्मिलित गराएको बताउँदै उहाँले त्यसका सिद्धान्तले दक्षिण एशियामा क्षेत्रीय सहयोगका निम्ति सुदृढ आधार खडा गरेको उल्लेख गर्नुभएको छ । वर्तमान विश्वले गरिबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउादै प्रधानमन्त्री ओलीले तिनलाई नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास अपरिहार्य भएका बताउनुभएको छ ।

यसैबीच, सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्कले दक्षिण एशियाको सामाजिक–आर्थिक विकासका निम्ति केही प्रगति गरेको भएपनि अझ धेरै गर्न सकिने सम्भावना र स्थान रहेको बताउनुभएको छ । मानव संशाधन, प्राकृतिक स्रोत लगायत स्रोत र साधनले भरिपूर्ण दक्षिण एशियालाई समृद्धिको मार्गमा अग्रसर बनाउन सार्क सदैव सक्रिय रहेको उहाँले उल्लेख गर्नुभयो ।

विभिन्न कारणले पाकिस्तानमा हुने भनिएको सार्कको शिखर सम्मेलन स्थगित हुँदै आएको छ । केही समय अघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानले आतंकारी गतिविधी अन्त्य नगरेसम्म पाकिस्तानले आयोजन गर्ने कुनैपनि कार्यक्रममा सहभागी नहुने अडान व्यक्त गर्नुभएको थियो ।  अन्य सदस्य राष्ट्रले समेत पाकिस्तानप्रति सकारात्मक धारणा व्यक्त गरेका छैनन् । यद्यपी नेपाल भने सम्मेलन गर्नै पर्छ भन्ने पक्षमा उभिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू