अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

दक्षिण एसियामा शिक्षा बारे तीन दिने सङ्गोष्ठी

बिआरटीनेपाल २०७५ मंसिर २१ गते १२:२७ मा प्रकाशित

दक्षिण एसियाका भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, भुटान, नेपालका शिक्षा क्षेत्रका बौद्घिकहरू सहभागी रहेको शिक्षा सार्वजनिक हितको विषय भन्ने बारे ३ दिने सङ्गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा यी देशका प्राध्यापक, शिक्षा विज्ञ, भुटान र श्रीलङ्काका पूर्व शिक्षा मन्त्रीहरूको समेत २० भन्दा बढी शिक्षाकर्मीहरूको सहभागिता रहेको थियो । 

दक्षिण एसियामा विशेषतः विद्यालय शिक्षाको अवस्था नीति, पद्घति, नेतृत्व, कार्यान्वयनका दृष्टिकोणबाट अवस्था उस्तै उस्तै रहेको र वर्तमान अवस्था सुधार गर्नको लागि एक अर्काको अनुभवबाट प्रशस्त सिक्न र बुझ्न सकिने कुरा बारे चर्चा भएको थियो ।

तीन दिने कार्यक्रमको बिचमा सहभागीहरूले काठमाण्डौंको एक निजी विद्यालय र एक सार्वजनिक विद्यालयको स्थलगत भ्रमण गर्नुका साथै विद्यालय शिक्षाका विविध आयामलाई समेटेर निर्माण गरिएको चलचित्र छक्का पन्जा ३ पनि निर्माता, निर्देशक र कलाकार टोलीसँगै बसेर हेरेका थिए ।

तीन दिने बहसको क्रममा शिक्षाको निजीकरण, शिक्षामा राजनीतिकरण, शिक्षकहरूको क्षमता अभिवृद्घि, विद्यार्थीको लागि शिक्षण र अन्य सृजनशील कृयाकलापहरूको व्यवस्था, अभिभावक, शिक्षक र विद्यालयलाई नजिक ल्याई स्थानीय स्तरबाटै शिक्षा सुधारको पहल लगायतका विषयमा मन्थन भएको थियो ।

शिक्षा नीति तथा अध्ययन केन्द्र (सिइपिपि)र एदएतयाक्सनको सहआयोजनामा भएको यस कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधानमा शिक्षालाई मौलिक हकको रूपमा स्थापित गरिएको र संविधानको मर्म अनुरूप नयाँ शिक्षा नीतिको मस्यौदा लेखनमा मन्त्रालयको नेतृत्वमा गठन भएको शिक्षा आयोगले काम गरिरहेको र सरकार आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क बनाउन कटिबद्ध रहेको बताउनु भयो । मन्त्री पोखरेलले दक्षिण एसियाका विशिष्ट व्यक्तिहरू भेला भएर गरिएको बहस र त्यसबाट निक्लेको निचोडले सरकारलाई नयाँ शिक्षा नीतिको मस्यौदाको क्रममा सन्दर्भ सामग्रीको रूपमा उपयोगी हुने बताउनु भयो ।

विख्यात भारतीय भाषाशास्त्री डा. गणेश देवीले शिक्षालाई कोरा शिक्षाको रूपमा मात्र नभई ज्ञानको वितरण र हस्तान्तरणको एउटा प्रकृयाको रूपमा लिइनुपर्ने र शताब्दियौं देखी भारत वर्षमा रहेका स्थानीय ज्ञानहरूलाई नयाँ ढङ्गबाट हेर्न र बुझ्नु पर्ने कुरामा जोड दिनुभयो । श्रीलङ्काली पूर्व शिक्षा मन्त्री समेत रहेका प्राध्यापक राजिभा विजेसिन्हाले प्राथमिक शिक्षा मातृभाषामा हुनुपर्ने र त्यसपछि विश्वमा प्रचलित भाषालाई सँगै लगेर विद्यार्थीहरूको क्षमतालाई बलियो बनाउनु पर्नेकुरामा जोड दिनु भयो । शिक्षावादी भुटानी शिक्षामन्त्री प्राध्यापक टीएस पौडेलले हरित विद्यालयको अवधारणा प्रस्तुत गरेका थिए । भारतीय शिक्षा विद् तथा महाराष्ट्र सरकारका पूर्व मुख्यसचिव शरदचन्द्र वेहारले शिक्षाको निजीकरणले समाजमा विभेदलाई अझ बढाउँदै लगेकोले शिक्षालाई सार्वजनिक, निःशुल्क र सहज बनाउनु पर्ने र खुलारूपमा भइरहेको निजीकरणलाई नियमन गर्नुपर्ने बताउनु भयो । नेपाली सहभागीहरू मध्ये शिक्षाकर्मी टीका भट्टराईले निजीकरण र सरकारीकरणका दुबिधा र डा हरि लम्सालले नेपालको अवस्था प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू