अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

अमेरिकाको ह्युस्टनमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर २१ गते १२:२१ मा प्रकाशित

ह्युस्टन टेक्सस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरले ११० औ देवकोटा जयन्ती विविध कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ । 

संस्थाका अध्यक्ष शेष शर्माको सभापतित्व, संरक्षक/संस्थापक अध्यक्ष गङ्गा लिगलको प्रमुख आतिथ्य, सम्पूर्ण कमिटीका सदस्यहरू तथा साहित्यकारहरूको घना उपस्थितिमा सम्पन्न कार्यक्रममा अनेसास ह्युस्टन च्याप्टरको वार्षिक पत्रिका “दियो” को बिमोचन कार्यक्रमका प्रमुख अतिथि र अध्यक्षबाट सम्पन्न भयो ।

सम्पन्न कार्यक्रममा महाकविको जीवनीमा प्रकाश पार्नुका साथै साहित्य-कलानुरागीहरूबाट आफ्ना कला तथा सृजना प्रस्तुत एबंम देउसी-भैलो कार्यक्रम गरिएको थियो भने अनेसास ह्युस्टन च्याप्टरको च्याप्टरको आजीवन सदस्य तथा साहित्यकार स्वर्गीय टङ्क प्रसाद खरेलकोको सम्मानमा श्रद्धान्जली सभा समेत आयोजना गरिएको थियो। संस्थाका संस्थापक अध्यक्ष गङ्गा लिगलले महाकविको जीवनीबारे मन्तव्य राख्नुभयो । साथै स्वर्गीय खरेकोको जीवनी र उहाँले नेपाली साहित्यमा पुर्‍याउनु भएको योगदानबारे संस्थाका अध्यक्ष शेष शर्माले मन्तव्य राख्नु भएको थियो । 

साधना शर्मा, सतिश त्रिपाठी, निल हरि आचार्य, अमृत लामिछाने, मोदनाथ गिरि सदा, सुदिक्षा पोखरेल र राजीव घिमिरेले जोडदार रूपमा आ-आफ्ना कविता/गजल/गीत प्रस्तुत गर्नु भएको थियो भने साहित्यकार कुमार पोखरेलले देवकोटाको योगदान बारे चर्चा गरेका थिए । अङ्ग्रेजी बोल्ने कलिला नानीहरू- बिजन अर्याल, प्रशम लुइँटेल, ईप्सित आचार्य, प्रोमिथस त्रिपाठी, पृथक् त्रिपाठी, सुभान राज घिमिरे र रीतु घिमिरेबाट आ-आफ्नो प्रस्तुतिले कार्यक्रममा छुट्टै रौनक छाएको थियो । समाजसेवी आजीवन सदस्य स्वर्गीय जनक प्रसाद लिगलको सम्मानमा उहाँको छोरा सञ्जय लिगलले सात जना बाल बालिकालाई पुरस्कार स्वरूप डलर १00 वितरण गरेका थिए ।

बसिल अर्याल, दीपेन्द्र गौतम, सतिश त्रिपाठी र अमृत लामिछानेको नेतृत्वमा सञ्चालन गरिएको देउसी-भैलो कार्यक्रमले नेपालमै भैलो खेलेको याद आयो भन्दै लगभग सम्पूर्ण उपस्थित साहित्य-कलानुरागीहरू छम छमी कम्बर मर्काउँदै नाच्दा कार्यक्रममा विशेष किसिमको रमाइलो अनुभव भएको थियो ।

संस्थाले आगामी दिनहरूमा पनि विभिन्न अवसर पारेर नेपाली कला र साहित्यको विकासमा सक्दो टेवा पुर्‍याउनै लैजाने अठोट सुनाउँदै संस्थाका अध्यक्ष शेष शर्माले कार्यक्रम समापन गर्नु भयो। कार्यक्रम सञ्चालन संस्थाका महासचिव साधना शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू