अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेकपाको वैधानिकता विरुद्ध सर्वोच्चमा रिट

बिआरटीनेपाल २०७५ मंसिर २१ गते १२:०१ मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलार्इ चुनाैति दिँदै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायरा गरेका छन्।

राजनीतिक दल दर्ता सम्बन्धी एनकाे व्यवस्थालाई बेवास्ता गर्दै आयोगले सत्तारूढ दललाई आधिकारिकता दिएपछि पहिलेदेखि नै आयोगमा दर्ता भएर निर्वाचनमा भाग लिँदै आएको कट्टेल नेतृत्वको पार्टीले आयाेगकाे निर्णयविरूद्द अदालतको ढोका ढकढक्याउन पुगेका हुन।

अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा शुक्रवार रिट निवेदन दायरा गरेको जानकारी दिए। आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानुन विपरीत भएको उनको दाबी छ।

आयोगले गत असोज ९ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकतापछि बनेको दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई वैधानिकता दिएको थियो।

कट्टेलको पार्टीको छोटकरी नाम नेकपा भए पनि आयोगले सत्तारूढ दलकाे छोटकरी नाम ब्राकेटमा ने क पा बनाउँदै वैधानिकता दिएको थियो।

दल दर्ता सम्बन्धी एनको व्यवस्था अनुसार, आयोगमा दर्ता कायम रहेको दलकाे नाम, झन्डा र चिन्हसँग मेल खाने गरी कुनै पनि नयाँ दल दर्ता गर्न नसकिने उल्लेख छ। त्यसको बाबजूद पनि आयोगले दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेको दललाइ सोही नाममा दर्ता कायम गर्दै वैधानिकता दिएको थियो।

कट्टेलले दर्ता गरेको निवेदनमाथि मङ्सिर २४ गते पेशी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू