अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

निर्मला पन्त बलात्कार र हत्या अपराधीनजिक पुग्यौं : प्रहरी

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ४:२५ मा प्रकाशित

काठमाडौं : प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ ।

‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अन्नपूर्णसँग भने, ‘चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौं ।’ बुधबार कञ्चनपुरमा सात जनासँग सोधपुछ गरिएको उनले सुनाए ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नै रावलको बयान लिएका छन् । रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् । उनी लागुऔषध दुव्र्यसनी रहेको बताइएको छ । उनलाई यसअघि सीआईबीका डीएसपी अंगुरबाबा जोशी नेतृत्वको टोलीले कञ्चनपुरमै पक्राउ गरेको थियो । सोधपुछपछि उनी रिहा भएका थिए ।

‘रावलसँग बयान लिने क्रम जारी छ । उनले घटनामा आफ्नो संलग्नताको संकेत गरेका छन्’, प्रहरी उच्च स्रोतले भन्यो, ‘कञ्चनपुरमा बुधबार पक्राउ परेका दुई जनाको पनि बयान लिएपछि थप तथ्य खुल्न सक्छ । तर, उनीविरुद्ध बलियो प्रमाण भने फेला परेको छैन ।’

गृह मन्त्रालय स्रोतले पनि यो घटनाको निचोडमा पुग्न लागेको बतायो । ‘प्रहरीले अपराधीनजिक पुगेको भनेको छ’, गृह स्रोतले भन्यो ।

प्रहरीले रावलसँग सम्बन्ध देखिएका दुई जनालाई पनि कञ्चनपुरमा पक्रेको छ । उनीहरूलाई काठमाडौं झिकाइएको छ । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई अभिभावकको साथ लगाएर जहाजबाट काठमाडौँ पठाइएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । ‘केन्द्रबाट २ जनाबारे अनुसन्धान गर्नुपर्ने भएकाले पठाउन भनियो’, कञ्चनपुर प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले भने, ‘परिवारका सदस्यसँगै उनीहरू दुवैलाई पठाइएको छ ।’

प्रहरी महानिरीक्षक खनाल र सीआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीले लिएको बयानमा रावलले यी दुई जनाको नाम लिएका थिए ।

महानिरीक्षक आफैँ सीआईबीमा

बुधबार दिउँसो प्रहरी महानिरीक्षक खनाल करिब ३ घण्टासम्म गृहमन्त्रालयमा थिए । अपराह्न प्रहरी प्रधान कार्यालय पुगेका खनाल राति साढे नौ बजे सीआईबीको कार्यालयमा पुगे । उनी त्यहाँ जानुको कारण थियो, निर्मलाको हत्यामा ‘संलग्न’ एक जना पक्राउ परेको सूचना ।

खनालले आफैँ रावलको बयान लिए । सीआइबीको टोलीले लिएको बयानमा आफूसँगै अन्य दुई युवाको पनि नाम लिएपछि चौधरीद्वयलाई प्रहरीले समातेर काठमाडौं झिकाइसकेको थियो।

रावल पक्राउ परेपछि महानिरीक्षकलाई अनुसन्धान निचोडमा पुग्न लागेको जनाउ सीआईबीले दिएको थियो । त्यसैले उनले रावलसँग बयान लिए ।

को हुन् रावल ?

१७ वर्षीय रावल भीमदत्तनगर नगरपालिका–१८ भगतपुर निवासी हुन् । उनका बुबाआमा दुवैजना अहिले रोजगारीका लागि भारतमा छन् । उनको मावली पनि भारत नै हो । उनी ठूलोबुबासँग बस्दै आएका थिए । प्रहरीका अनुसार निर्मलाको शव भेटिएको दिन रावल भारततर्फ गएका थिए । काठमाडौँ आएपछि उनी समातिएका हुन् । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू