अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

यो समय नारी हुनुमा भाग्यमानी शृङ्खला वा अभागी निर्मला ?

आचार्य प्रभा २०७५ मंसिर २० गते १०:२८ मा प्रकाशित

अहिले नेपालमा दुई युवतीहरूको सकारात्मक र नकारात्मक दुखद अनि सुखद चर्चा चली रहेको छ । एकातिर निर्मलाको बलात्कारपछिको बीभत्स हत्याले हर नेपाली मनमा पीडा र क्रोधको आगो दन्दनी बलिरहेको छ भने, उता शृंखलाले विश्व सुन्दरी जित्ने आशामा औसत नेपालीको मनमा खुसीयाली छाएको छ । 

हामी त जनता हौँ । देशको पीडामा पनि दुखी बन्छौँ र देशको खुसीयालीमा पनि सरिक हुन्छौँ ।तर अचम्म यो घडीमा जनताले न खुसी हुने छुट र अधिकार नै पाएको छ न त दुखी भएर सरकारको विपक्षमा कुर्लिएर दिन बिताउँदा नै आफ्नो जीविका चलेको छ ।

यता विश्व सुन्दरी जित्ने आशामा खुसी मनाऊँ जनताबाटै गाली र तिरस्कार । उता एउटी कलिली युवतीको न्यायकोलागी समर्पित भई लडुं त आफ्नो गुजाराको बाटो बन्द । न जनताको आवाज सुनिदिने कुनै ठाउँ छ, न न्यायकोलागी बोली दिने कुनै सत्य जिब्रो छ । यसैले यो समय नेपाली जनताकोलागी धर्मसंकट बनेको छ । आखिर के गल्ती गरेको छ?नेपाली जनताले ? र न खुसीमा रमाउन पाउनु ? न दुखमा साथ पाउनु ? आखिर यी दुवै नेपाली जनताकी छोरी हुन् यी दुवैकोलागी खुसी हुनु र दुखी हुनु पाउनु नेपाली जनताको अधिकार हो । तर अफ्सोच!यहाँ सक्ने स्थिति न दिल खोलेर हाँस्न र बधाई दिन पाएका छन् न त दुखी भएर एक असहाय मृत नारी र पीडित बाबुआमाकोलागी समर्पित हुने स्थिति नै छ । लड्ने को सँग ? जब सरकार र ओहोदाकहरु नै मौन बनेर रमिता हेरिरहेका छन् ।

लड्ने लडी रहेका छन्, कुर्लिने कुर्ली रहेका छन् तर यत्तिका समय बित्दा पनि उनीहरूको आवाजहरू केवल न्यायको भित्तामा ठोक्किएर शून्यतामा बिलाई रहेका छन् ।त्यसैले यो समय निर्मला त उसै पनि अभागी नै भइन् जसको मृत्यु पश्चात् पनि सरकार र ओहोदामा बस्ने मुटुहरूमा थोरै पनि दुख्ने ठाउँ भएन तर उसरी नै शृङ्खला पनि प्रतिकुल समयमा विश्व ताज पहिरिने होडबाजीमा परेकी छिन् जसलाई पनि खुलेर गर्व गर्न असहज भइरहेको हुन सक्छ । छन् हजारौँ किसिमका सोंचहरु । कोही भन्छन् यता निर्मलाको यस्तो पीडामा पनि सुन्दरीलाई जिताउने होडमा लागेका छन् । उता निर्मलाको न्यायकोलागी लड्नेहरू पनि भित्री मनबाट नै प्रताडित भई सके होलान्था । की सके होलान् । तर सहरी थाके पनि सोच र हिम्मत पक्कै थाकेको छैन होला र थाक्ने छैन । अब यो घडीमा विश्व सुन्दरीलाई अघि बढाउनेहरूलाई गाली गर्ने वा निर्मलाको असह्य मृत्युकोलागी भनेर झोक्रिएर बस्ने ? यी कुराहरू सोच्न बाध्य बन्नु परेको छ । के नेपाली जनताले खुसी हुनु र दुखी हुनु पनि राजनीतिक माँखेसांग्लो नै चुँडाउनु पर्ने हो? सुख/दुख दिन/रात आँसु/हाँसो यी सब त प्रकृतिका नियम हुन् जसलाई भोग्नु मान्छेको नैसंसर्गिक अधिकार हो ।तर अब त यस्तो समय आयो कि प्रकृतिको उपहारलाई पनि हामीले बहन गर्न नपाउने भयावह स्थिति सृजना भयो ।

अहिलेको गणतान्त्रिक समयमा पनि नेपाली जनताले खुसीको सास फेर्न नपाउनु यो कस्तो अधिकार हो ?
नारी प्रकृतिको बर्दान हुन् जसलाई शृष्टिकर्ता, पुरुषकी अर्धांगिनी, आमा, देवीको रूपमा मान्छन् र पुज्छन् । पुरुषकोभन्दा नारीको नै हर कुरामा चर्चा हुन्छ । नारीलाई अप्सरामा पनि परिभाषित गरिन्छ अनि नारीलाई आमाको बिम्बले पनि सिँगारिन्छ । जुन घरमा नारीको बास हुन्न त्यो घर खण्डहर झैँ हुन्छ । आमा नभएको घर फुंग उडेको खण्डहर झैँ लाग्छ तर यी असङ्ख्य विशेषणले सुसज्जित नारीको यो देशमा यस्तो अपमान अनि अन्याय देख्नु पर्दा सबै आश्चर्यचकित छन् । अब हामी खुसी र दुख के व्यक्त गरौँ ? कि शृंखलालाई हतोत्साहित गरौँ  ? या निर्मला हत्याकाण्ड बिर्सौँ ?

यसको जबाफदेही को त ? कुनै सञ्जालमा शृंखलालाई शुभकामना दिउँ, निर्मलाको बिव्हल कथा बिर्सेजस्तो, निर्मलालाई मात्र सम्झेर संवेदना दिउँ शृंखलाले देशलाई दिई रहेको शानलाई लत्याए जस्तो ।

हो हामी धर्म सङ्कटमा छौँ । यो घडी असङ्ख्य निर्मला र शृंखलाहरु मौन चीत्कारमा डुबी रहेका छन् हाम्रो देशमा । न नारीले पाउने सम्मानमा खुसीले प्रफुल्ल भएर अगाडी बढ्ने हिम्मत नै गर्छन् । न त आफ्नो जीवन र यौवनको सुरक्षामा ढुक्क भएर हिँड्न नै सकेका छन् । यसैले भन्न मन लाग्छ, लेख्न मन लाग्छ । यो देशमा निर्मला र शृंखलाहरु आफ्नो हिम्मत, साहस र मेहनतले अघि बढे पनि देशको राजनैतिक अस्थिरता, स्वार्थ र गिद्धे नजरहरूको कलङ्कित दृष्टिको कारणले निरीह बनी रहेका छन् । अब हामी अभिभावकहरूले आफ्ना छोरी चेलीहरूलाई निर्मला काण्डको त्राष देखाएर घरभित्रै माखेसांग्लो लाएर राख्ने वा बिश्वसामु चिन्न पनि प्रोत्साहित गर्ने ? यी प्रश्नहरूको प्रत्युत्तर दिने कसले ?

अन्त्यमा म शृंखलालाई पनि अघि बढ्ने प्रेरणा दिन चाहन्छु र निर्मलालाई पनि न्यायको भिख माग्न नतमस्तक बन्छु । यी दुवै नेपाल र नेपालीकी छोरी हुन् । दुर्भाग्य ! निर्मलाले यही समयमा पशुहरुकोनिम्ति जीवन त्याग्नु पर्‍यो ।सौभाग्य शृंखलाले यही समय बिश्वसामू चिनिने अवसर प्राप्त गरिन् । यो दुवैको लेखान्त वा दुर्भाग्य थियो ।

तर पनि हामी नकारात्मक नसोचौं जुन खुसी पाउँदैछौं त्यो खुसीलाई पनि स्वीकार गरौँ जे बित्यो,जे घट्यो त्यो घटनाका दोषीको बारेमा पनि मौन नबसौं ।लेख्न,बोल्न जे सकिन्छ आवाज उठाऊँ । निर्मला हत्याकाण्डलाई सोचेर शृंखलालाई पनि नबिसौं । प्रोत्साहन दिउँ र यी नरपिचाशहरुको आँखा खोलौँ की सबै नारी कम्जोर हुन्नन् । संसार हाँक्ने र संसारसँग मुकाबिला गर्ने नारीहरू पनि यही देशमा जन्मेका छन् भन्ने आभास दिलाऊँ अन्त्यमा निर्मलाको आत्माले शान्ति पाओस् र चाँडै हत्याराको पत्तो लागेर नारीशक्तिको सजाय भोगोस् । शृंखलालाई पनि बिश्वसामु नेपाल देशलाई चिनाउन प्रयासरत रहेकोमा अनेकौँ अनेक शुभकामना ।जित हार जे भए पनि नेपाल फर्केर निर्मला हत्याकाण्डको दोषीहरूलाई पत्तो लगाउन यो समयकी सुन्दरीकोपनि प्रयास रहोस् । अनि मात्र शृंखलाको सौन्दर्य मात्र होइन समर्पण र सुन्दर मनको कदर हुनेछ नत्र शृंखलालाई नकारेर नाख खुम्च्याउनेको पनि कमी छैन अहिले । यो स्वाभाविक पनि हो ।

एउटी युवतीको बीभत्स हत्याले देश शोकाकुल बनेको बेला हर आमाको छाती चिरिएको बेला कुनै अर्की युवती सौन्दर्यको प्रतिस्पर्धी भएर उत्रिन्छिन् भने यो समाज मान्न तयार हुन्न किनकि समय/परिस्थितिले पनि सही काममा नकारात्मक भावना जन्माउन सक्छ भन्ने उदाहरण अहिले देशमा गाईंगुईं चली नै रहेको छ । किनकि हाम्रो देश हरेक कुरामा अन्य देशको दाँजोमा पुगिसकेको भए पनि ।जस्तै खानपान/ जीवनशैली/ बाँच्ने कला तर सोचमा भने अझै गरिब मानसिकता नै अल्झिएको छ । यहाँ सौन्दर्य प्रतियोगिता भन्ने बित्तिकै अङ्ग प्रदर्शन,रूपको प्रतिस्पर्धा मात्र हो भन्ने मानसिकता बोकेका हामी पनि छौँ तर विश्व सुन्दरी जित्नु या त्यहासम्म पुग्न सक्नु भनेको अनेकौँ चुनौतीहरूलाई पार गर्दै आफ्नो प्रतिभा र दिमागलाई पनि उत्तिकै प्रयोग गर्नु हो भन्ने सोचबाट हामी अझै टाढा छौँ । यी दुवै चेलीहरूको कल्याण होस् भन्ने कामना अझै पनि मेरो । भर्खरै पाएको जानकारी अनुसार काठमान्डौबाट एक युवक पक्राउ परेका छन् भन्ने समाचार आएको छ निर्मला हत्याकाण्डको दोषी ठहरिएको ।हेरौँ यो अनुसन्धान कत्तिको सत्य साबित हुन्छ ? यदि यो सत्य हो भने सरकारलाई हामीले अझै दोष लाउनुको कुनै औचित्य हुन्न ।आशा गरौँ पक्कै पनि यो रहस्यको राज खुल्ने नै छ । लाखौँ नेपालीको मनमा शान्तिले बास पाउने छ र शृंखलाको तपस्याले पनि सार्थकता र स्याबासी पाउनेछ लाखौँ नेपालीहरूको मन मुटुबाट ।