अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

चीनिया दूरसंचार कम्पनी हुवावेका उच्च अधिकारी क्यानडामा पक्राउ, चीनको विरोध

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:१८ मा प्रकाशित

चीनको विशाल दूरसन्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरुले बताएका छन् । चीनले भने उक्त पक्राउ र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

मेङ वान्झाउ हाल हुवावेकी प्रमुख वित्तीय अधिकृत हुन् । इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान सुरु गरेको बताइएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हुवावेका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् । संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनावका सन्दर्भमा तीनमहिने युद्धविराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ ।

दुवै देशका व्यापार मध्यस्थकर्ताहरुमाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी छ । मेङको गिरफ्तारीसँगै एसियाली सेयरबजारमा त्यसको असर देखिएको छ । साङघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ ।

मध्याह्नसम्म साङघाइ स्टक एक्सचेन्ज १.३ र हङकङ स्टक २.६ प्रतिशतले घटेको छ । ‘चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ र संयुक्तराज्य अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रहरुले यस्तो परिस्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैनन’–अमेरिकी सिनेटर बेन सास्सेले भनेका छन् । उनले जारी गरेको एक वक्तव्यमा भनिएको छ–‘कहिलेकाहीँ चिनियाँ अतिक्रमण पूरै राज्य–प्रवर्धित देखिन्छ भने कहिलेकाहीँ चीनका तथाकथित निजी कम्पनीहरुले यो कार्य गरिरहेका छन् ।’

क्यानडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ । मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको बताएको छ । मेङका पिता एवं हुवावेका संस्थापक रेन झेङफाई चिनियाँ जनमुक्ति सेनाका पूर्वइन्जिनियर हुन् । ओट्टावास्थित चिनियाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

हुवावेले मेङले कुनै गलत कार्य गरेकोबारेमा जानकारी नभएको बताउँदै आरोपकाबारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ । कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ–‘हुवावेले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ । राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्धहरु एवं नियमहरुलाई पूर्णपालना गरिएको छ ।’ ‘वालस्ट्रिट जर्नल’ले अप्रिलमा अमेरिकी न्याय विभागले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लंघन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू