अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०५ | Colorodo: 11:20

पोखरामा काहुँ महोत्सव मंसिर अन्तिम साताबाट

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:०४ मा प्रकाशित

पोखराको ११ मा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले मंसिर अन्तिम साता काहुँ धरहरा महोत्सव हुने भएको छ । १० बर्ष पछि तेस्रो संस्करणको काहुँ धरहरा महोत्सव हुन लागेको हो । काँहू धरहरा महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको रहेको छ । जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा मंसिर २८ गतेदेखि पुस ८ गते सम्म महोत्सव सञ्चालन हुने आज महोत्सव स्थल काहू डाँडामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो ।

विगतमा २०६२ सालमा पहिलो पटक र २०६५ सालमा दोस्रो महोत्सव आयोजना भएको थियो । एक दशक पछि फेरी स्थानीय क्लबहरुको सक्रियतामा तेस्रो पटक महोत्सवको तयारी गरिएको हो । पोखराको दृष्यावोलकनको लागि उपयुक्त भएपनि ओझेलमा पर्दै आएको काँहुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताउनुभयो ।

महोत्सवमा पर्वतीय दौड, साईक्लिङ लगायत साहसिक खेलकुद गतिविधि समावेश गरिने आयोजकले जनाएको छ । राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिने आर्चाले जानकारी दिनुभयो ।

आयोजकका अनुसार लाईभ म्युजिक कन्सर्ट, व्यापार मेला, स्थानीय संस्कृति तथा कलाको प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसार गरिने छ । महोत्सव स्थलमा रहने ८० वटा स्टलमा दैनिक उपभोग्य सामान, फुड फेष्टिबल, हस्तकलाका सामानहरु राखिने क्लबले जनाएको छ ।

दश दिने महोत्सवमा ८० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । समुन्द्री सतहबाट १४६० मिटरको उचाईमा रहेको काहूँडाँडा तथा धरहरासम्म पुग्नका लागि पक्कीबाटो निर्माण गरिएको छ । उक्त स्थानबाट पोखराको बजार मात्रै नभई उत्तरी हिमाली दृष्य आँखै अगाडि र विहानीको सुर्योदय हेर्न पनि प्रख्यात छ ।

२०२६ सालमा तत्कालिन समयमा अञ्चलाधिस नन्दबहादुर मल्ल र सामाजिक अभियान्ताको रुपमा परिचित स्व. मेजर बीरसिंह गुरुङको सक्रियतामा धरहरा निर्माण गरिएको थियो । धरहरा भन्दा केही पर काहुँकोट देउराली मन्दिर छ । काँहु तत्कालिन गाविसको रुपमा रहेपनि अहिले महानगरपालिका वडा नं ११ मा समाहित भएको छ ।

काहुँ कुँडहर मौलाले प्रख्यात काहुँकोट देउराली मन्दिरका नामबाट परिचत रहेको र पश्चिमका जनसमुदायहरुका आस्थाको धरोहर रहेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ । काहुँ क्षेत्रको पर्यटन प्रवद्र्धन, बृहत्तर विकास, आर्थिक समृद्धिका लागि ग्रामीण पर्यटन अन्तर्गत होमस्टे सञ्चालन लगायतमा सहयोग पु¥याउने उद्देश्य सहित महोत्सव आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं. ११ का अध्यक्ष मोहन बास्तोलाले महोत्सवलाई व्यवसायको उद्देश्यभन्दा पनि पर्यटन प्रबद्र्धनका उद्देश्यले गर्न लागिएको बताउनुभयो । पोखरा महानगरका ३३ वटै वडा काहुँडाँडाबाट देख्न सकिने बास्तोलाले जानकारी दिनुभयो । काहुँको पहिचान नहुँदा पोखराको नजिक रहेर पनि ओझेलमा परेकाले पनि यस्ता महोत्सवले पर्यटन प्रबद्र्धन र विकासमा सहयोग पुग्ने उहाँको विश्वास रहेको छ ।

प्रतिक्रिया