अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

निर्मलालाई न्याय माग्दा यो ज्यादती !

बिआरटीनेपाल २०७५ मंसिर २० गते ८:१० मा प्रकाशित

काठमाडौँ – यो समाचार आजको नयाँ पत्रिका दैनिकामा छ ।

-इन्जिनियरिङको तयारी गरिरहेका युवाको खुट्टा गुम्यो, चार महिनादेखि अस्पतालमा अर्धचेत

बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल न्युरोलोजिकल वार्डको ३१५ नम्बर क्याबिनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए । क्याबिन आगन्तुकले भरिएको थियो । ५३ वर्षीया आमा शिवकला छोरालाई चम्चाले खाना खुवाउँदै आगन्तुकलाई उनको स्वास्थ्यबारे जानकारी गराउँदै थिइन् ।

कचौराको खाना खाइसकेपछि अर्जुनले आगन्तुकतर्फ हेरे । आगन्तुकले उनीसँग सेल्फी खिचे । अर्जुन फिस्स हाँसे, बोल्न सकेनन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको न्यायिक आन्दोलनका क्रममा ७ भदौमा प्रहरीको गोली लागेर घाइते भएका हुन् अर्जुन । गोली दायाँ खुट्टाको पिँडुलामा लागेको थियो ।

अत्यधिक रक्तस्रावपछि उनी घटनास्थलमै बेहोस भए । हेलिकोप्टरबाट शिक्षण अस्पताल ल्याइएपछि उनलाई मनमोहन कार्डियालोजीको आइसियूमा राखियो । गोलीको घाउले खुट्टामा संक्रमण भयो र तिघ्राभन्दा मुनिको भाग काट्नुपर्यो  । खुट्टा गयो, तर छोराको होस फर्केला भन्ने आस थियो आमालाई । करिब दुई महिनाको सघन उपचारपछि छोराको होस त खुल्यो, तर पूरै होइन, आधा मात्र ।

‘चार महिना भयो बोल्न सकेको छैन । टाउकोबाहेक शरीरका कुनै अंग चल्दैनन् । खाना खुवाउनेदेखि दिसा–पिसाबसम्म हामीले नै गराइदिनुपर्छ । ओछ्यानमा पनि न दायाँ फर्कन सक्छ, न बायाँ । भर्खर २० वर्ष भयो । जीवनभर यस्तै भए यसको स्याहार कसले गरिदिन्छ होला ?’ आमा शिवकलाले नयाँ पत्रिकासँग भनिन् ।  अर्जुन स्थानीय मर्निङग्लोरी उच्च माविबाट प्लस टु सकेर इन्जिनियरिङको तयारी गर्दै थिए ।

 -कक्षा ८ मा अध्ययनरत किशोरको हातमा गोलीको छर्रा, स्कुल अवरुद्ध

ल भीमदत्तनगर–१८ जानकीटोलका १४ वर्षीय चेतन भट्टको बायाँ हातमा गोली लागेको थियो । अहिले पनि उनको हातमा गोलीका छर्रा छन् । स्थानीय भृकुटी माविमा कक्षा ८ मा अध्ययनरत चेतनले स्कुल जान नसके पनि अर्धवार्षिक परीक्षा भने दिएका छन् । ‘अहिले पनि हात दुखिरहन्छ,’ उनले भने, ‘त्यसैले विद्यालय जान सक्दिनँ ।’

 -१६ वर्षीय उमेश देउवाको गोली लागेको खुट्टामा रड, पढाइमा अवरोध

ल भीमदत्तनगर–२ भाँसीका १६ वर्षीय उमेश देउवा चार महिना बित्दा पनि स्कुल जान सकेका छैनन् । उनको बायाँ खुट्टामा गोली लागेको थियो । अप्रेसन गरेर उनको खुट्टामा रड राखिएको छ । तीन महिना अस्पताल बसेर घर आएका उमेशले अर्धवार्षिक परीक्षा दिन सकेनन् । उमेशका बुबा यज्ञराजले छोराको पढाइ मात्र नभई जिन्दगी नै बर्बाद भएको पीडा सुनाए । ‘खुट्टा अझै निको भएको छैन, बायाँ भागको पूरै शरीर दुख्छ,’ उनले भने । उपचारका लागि सरकारले दिएको दुई लाख ५० हजार सकिएको उनले बताए । ‘आउँदो पुस १ मा फेरि अस्पतालले बोलाएको छ, उपचारका लागि खर्च छैन । सरकारले पूरै उपचार खर्च दिनुपर्ने हो किन दिएको छैन थाहा छैन,’ यज्ञराजले भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू