अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 22:32

नवीन, लुना र केसी डान्स सेन्टर

गोविन्द गिरी प्रेरणा २०७५ मंसिर १९ गते ११:३० मा प्रकाशित

प्रवासमा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्न सजिलो छैन । रोजी रोटीका कामबाट समय निकालेर खासै आर्थिक लाभ नहुने, मनको सन्तोष, आफ्नो करियरको निरन्तरताका लागि गरिने यस प्रकारका क्रियाकलाप यौटा जोस र उमङ्गमा सुरु गरे पनि त्यसलाई निरन्तरता दिन नसकेको यथार्थ हाम्रा सामु छ । त्यसैले नेपालमा राम्रो करियर बनाएका प्रतिभाहरू अमेरिकाको मेल्टिङ पटमा बिलाएका छन् । तर थोरै प्रतिभा भने निष्ठाका साथ निरन्तर लागिरहेका छन् । त्यस्ता प्रतिभाहरूमा नृत्य निर्देशक नवीन केसी अग्रपङ्तीमा रहेका छन् । र उनलाई साथ दिएकी छिन् लुना श्रेष्ठले । 

वासिङ्टन डिसी क्षेत्रमा विभिन्न समयमा विभिन्न ग्रुपले वार्षिक रूपमा सांस्कृतिक कार्यक्रम गर्ने परम्परा बनेको थियो विशेष दसैँ तिहारको समयमा । पछिल्लो समयमा त्यसको नेतृत्व कलाकार सरोज खनालले गरेका थिए । त्यस क्रममा पनि नवीन केसी त्यस समूहमा सक्रिय थिए । तर सरोज खनाल नेपाल फर्किएपछि त्यो सांस्कृतिक निरन्तरता दिन नवीन केसी जुर्मुराए । उनले लुना श्रेष्ठको सहयोग र साथमा केसी डान्स सेण्टरको स्थापना गरे । त्यही डान्स सेण्टरको ब्यानरमा २ वर्षदेखि नियमित रूपले कलिउड नाइटको नाममा सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।

कलिउड नाइट गीत नृत्य र प्रहसनको प्रस्तुति हो । तर यसमा नवीनले नयाँपन थपेका छन्, सुपरममको प्रस्तुति । यो हरेक वर्ष आकर्षणको केन्द्र बनेको छ । गैर कलाकार कामकाजी महिलाहरूलाई प्रशिक्षण दिएर प्रस्तुत गरिएको सुपर मम को प्रस्तुति लोभलाग्दो, आकर्षक र सबैको वाहवाही बटुल्ने प्रस्तुति बनेको छ । यसअघि यस्ता प्रकारका प्रस्तुति हुने गरेका थिएनन् ।

यस वर्ष सुपर ममको साथमा साना साना नानीहरूको पनि प्रस्तुतिले भविष्यका कलाकार उत्पादा गर्न सहयोग पुग्ने सम्भावनाको ढोका खुलेको छ । यस वर्षको कार्यक्रममा कलाकार सरोज खनालको नाट्य प्रस्तुतिले दर्शकलाई रुवाउन सफल भएको थियो, त्यसलाई अझै पर्फेक्ट बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि । यो कार्यक्रमबाट उठेको पैसामध्येबाट चेपाङ समुदायको लागि रकम हस्तान्तरण नेपालमा भयो । यो अर्को सामाजिक महत्त्वको काम भएको छ । केसी डान्स सेण्टरले नियमित रूपमा सशुल्क नृत्य प्रशिक्षण गर्दै आएको छ । तर आजको समय अनलाइनको समय हो । फेरि सबैले भौकित रूपमा प्रशिक्षण स्थल गएर प्रशिक्षण लिन पनि सहज छैन ।

त्यसलाई दृष्टिगत गरेर अनलाइन निःशुल्क नृत्य प्रशिक्षणको अवधारणा अघि सार्दै फेसबुकमा राखिएको छ केसी डान्स सेण्टरको तर्फबाट । यो पनि छोटो समयमै निकै लोकप्रिय हुँदै गएको छ । यी सब गतिविधिहरूका लागि केसी डान्स सेण्टरलाई साधुवाद त दिनै पर्छ । यसमा सहभागी हुनका लागि प्रेरित पनि गर्नुपर्दछ ।

केसी डान्स सेण्टरको विषयमा यो वेबसाइटमा गएर विस्तृत रूपमा जानकारी लिन सकिन्छ:
www.kcdancecenter.org