अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

वाइडबडी खरिद प्रकरणः छानविन समिति स्वतन्त्र नभएको सांसदहरुको आरोप

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:११ मा प्रकाशित

वाइडबडी खरिद प्रकरणको छानविनमा सांसदहरुले प्रश्न उठाएका छन् । बुधवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले वाइडबडी खरिदको छानविन गर्न गठित छानविन समिति स्वतन्त्र नभएको भन्दै आपत्ति जनाएका हुन् । वैठकमा उनीहरुले स्वतन्त्र छानविन समितिको माग समेत गरेका थिए । बैठकमा वोल्दै समितिका सदस्य तेजुलाल चौधरीले भ्रष्टाचार गर्ने मान्छेले नै मन्त्रालय चलाउने र त्यही मान्छेले छानविन गर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नेपाल वायुसेवा निगमको मान्छे राखेर छानविन समिति गठन गरिएकोमा आपत्ति जनाउनुभएको हो । न्यायधीश सहित राखेर छानविनको लागि स्वतन्त्र समिति बनाउनुपर्ने उहाको भनाई थियो ।

बैठकमा उपस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन रवीन्द्र अधिकारीको ध्यानाकर्षण गराउँदै चौधरीले जुन व्यक्तिले भ्रष्टाचार गरेको छ, त्यसलाई छानविन होइन कठघरामा उभ्याउन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।वाइडबडीमा मन्त्री अधिकारी गम्भीर नभएको आरोप लगाउँदै चौधरीले निगम र मन्त्रालयको मिलेमतो देखिएको दाबी समेत गर्नुभएको छ ।
अर्का सांसद अमनलाल मोदीले छानविन समिति ‘काले काले मिलेर खाउ भाले’ जस्तै भएको टिप्पणी गर्नुभयो । समितिमा सम्बन्धित निकायका मान्छे राख्दा छानविन कस्तो होला ?’ उहाँको प्रश्न थियो– ‘यो मिलीजुली खाउजस्तो भयो ।’ सांसद मोदीले पर्यटनमन्त्रीबाट तथ्यांकमा जवाफ नआएको भन्दै असन्तुष्टि समेत जनाउनुभएको छ ।

सांसद विशाल भट्टराईले वाइडबडी खरिद अनियमितताको सम्पूर्ण डिजाइनर नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार रहेको भन्दै पदबाट हटाउन पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । यो विषयमा छानविन भइरहेको भन्दै भट्टराईले राष्ट्रको सम्पत्तिमा बद्मासी र दुरुपयोग भएको पाइए फिर्ता गराउनुपर्नेमा जोड दिनुभएको छ ।

सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले वाईडवडी प्रकरणमा स्पष्ट छानविन हुने र आवश्यक परे थप समिति बनाउने स्पष्ट पार्नुभयो । उक्त विषयमा मन्त्रालय गम्भीर रहेको स्पष्ट पार्दै मन्त्री अधिकारीले कुन कुरामा कमजोरी भयो खोज्नुपर्ने र मन्त्रालयले खोजिरहेको समितिलाई जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू