अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

वर्तमान सरकार वामपन्थी र कम्युनिष्ट दुवै हैनः माओवादी अध्यक्ष मोहन वैद्य

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ८:३० मा प्रकाशित

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले वर्तमान सरकार वामपन्थी र कम्युनिष्ट दुवै नभएको बताउनुभएको छ । चुनाव जित्न तत्कालीन एमाले र माओवादी केन्द्रले वाम गठवन्धन भनेर गरेको र जनताले पनि भ्रममा परेर जिताएपनि व्यवहारमासरकार वामपन्थी र कम्युनिस्ट दुबै नभएको उहाँले तर्क गर्नुभयो । पार्टीको बुटवलमा सम्पन्न केन्द्रीय समितिले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वैद्यले साम्राज्यवाद र नवउदारवादको चंगुलमा फस्ने दल वामपन्थी र कम्युनिस्ट हुन नसक्ने ठहर गर्नुभएको छ ।

बर्तमान सरकारबाट शान्ति र स्थिरता आउंछ भन्नु पनि बेकार कुरा भएको टिप्पणी गर्दै अध्यक्ष वैद्यले १२ बुंदे विस्तृत शान्ति सम्झौता अनुसार काम नभएकाले शान्ति प्रक्रिया पूरा नभएको समेत तर्क गर्नुभयो । युद्धकालका घटनालाई जोडेर थुप्रै व्यक्तिमाथि मुद्दा अझै कायम रहेको, वहिर्ग्मित लडाकू, घाइते र अपांगहरुको उचित व्यवस्थापन र भरणपोषण नभएको, शहीदहरुको पनि उचित सम्मान नभएकाले राजनीतिक क्रान्ति पूरा नभएको उहाको भनाई थियो ।

संसदीय व्यवस्था विरुद्ध युद्ध गरेका प्रचण्ड अहिले त्यही व्यवस्थामा रमाएर युगान्तकारी परिवर्तन भन्दै धोका दिएको आरोप पनि वैद्यले लगाउनुभएको छ । माओवादी युद्ध संसदीय व्यवस्थाविरुद्ध र नयां जनवादी क्रान्तिका पक्षमा भएको स्मरण गर्दै वैद्यले प्रचण्डहरु घुमिफिरी रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामै फर्किनु विडम्वना भएको बताउनुभयो । चुनावका बेला धेरै ठूला आश्वासन बांडेपनि वर्तमान सरकारले विकास र समृद्धि ल्याउन नसक्ने पनि उहाको ठोकुवा थियो ।

पार्टीको मंसिर १२ गतेदेखि १७ गतेसम्म बसेको वैठकले राष्टियता, जनतन्त्र र जनजिविकाको सवाललाई लिएर चरणवद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । यस्तै फागुन १ गते जनयुद्ध दिवसमा युवा मोर्चाले रातो मार्चपास गरी जनयुद्ध दिवसन मनाउने, फागुनमै १९५० लगायत असमान सन्धी सम्झौता खारेजी, सीमा अतिक्रमण, नक्कली नक्सा,भारतबाट एकपक्षीयरुपमा बनाइएका बांध तथा सडक निर्माण लगायतका गतिविधि र मिचाहा प्रवृत्तिको विरोध र राष्ट्रिय स्वाधीनताका पक्षमा मेची महाकाली राष्ट्रिय जनजागरण अभियान संचालन, संयुक्त मोर्चाको पहलमा चैत २४ गते जनआन्दोलन दिवस पारेर जनपरिचालनसहित काठमाडौं केन्द्रीत कार्यक्रम र आम हड्तालसम्मका कार्यक्रम गर्ने वैठकले निर्णय गरेको पार्टीका नेता परि थापाले जजानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू